इलामको चुलाचुलीकी धनमाया तिम्सिना ७५ वर्षकी भइन्। बाँचेको यो जुनीको आधाभन्दा बढी समय धनमायाको मनमा एउटै कुरा गढिरह्यो। जेठो छोरो कुनै साँझ टुप्लुक्क घर आइपुग्छ कि भनेर उनले बाटो हेरिरहिन्।
हिउँद बिते, बर्खा सकिए। धनमायाको कपाल फुल्न थाल्यो, अनुहारमा चाउरी पर्यो तर उनका जेठा छोरा दुर्गाप्रसाद तिम्सिना घर फर्किएनन्। तै पनि उनले बाटो हेर्न छोडिनन्।
४० वर्षपछि अहिले धनमायामा आश पलाएको छ- कलिलैमा घरबाट हिँडेको छोरो अब घर आउँदै छ रे भन्ने कुरा चलिरहेको छ।
इलामको एकतपा गाउँका दुर्गाप्रसाद ७ वर्षको हुँदा बुवा बिते। त्यसको सात वर्षपछि आमा धनमायाको हात भाँचियो। उनको दायाँ हात कुहिनाभन्दा तल काटेरै फाल्नु पर्ने भयो।
बालखमै बुवा गुमाएका दुर्गाप्रसादकी आमाको दाहिने हात पनि नरहेपछि घरको जिम्मेवारी उनकै काँधमा आयो। २० वर्षको हुँदा उनी देश-विदेश गर्छु, आमा र भाइबहिनीलाई पाल्छु भनेर घरबाट निस्किएछन्।
'उहाँ घरबाट मंगलबारेमा तोरी बेच्न जान्छु भनेर निस्कनुभएछ,’ उनका काकाका छोरा प्रकाशचन्द्र शर्मा तिम्सिनाले बिहीबार सेतोपाटीसँग भने,‘केही दिन फर्किनु भएन। उता मंगलबारेमा आफन्तहरू हुनुहुन्थ्यो। परिवारलाई त्यतै बस्नुभयो कि भन्ने भएछ। दुई-तीन महिनामा पनि दाइ फर्किनु भएन।’