घरेलु हिंसाले निम्त्याएको त्रासदी : अन्तर्राष्ट्रिय नारी दिवसकै दिन चार सन्तानसहित कर्णालीमा डुबिन् आमा

विभिन्न कार्यक्रमसहित सोमबार नेपालमा पनि १११औँ श्रमिक महिला दिवस मनाइँदै थियो । महिला हकहित र अधिकारबारे सभा, सेमिनार र गोष्ठी चले । तर, दैलेखको आठबिस नगरपालिका– ३ निमाइल भने शोकमग्न थियो । गरिबी, अशिक्षा, बेरोजगारी, विभिन्नखाले हिंसाबाट महिलाले मुक्ति पाउनुपर्छ भनेर नारी दिवस मनाउँदै गर्दा निमाइलकी सुकु बडुवाल भने घरेलु हिंसाकै कारण चार सन्तानसहित कर्णाली नदीमा हामफाल्न विवश बनिन् ।

मदिरा सेवनका कारण मानसिंह बडुवालले श्रीमतीसहित चारै सन्तानलाई लगातार तनाव दिएपछि सोमबार साँझ सुकु बडुवाल आफ्ना सन्तान साथमै लिएर घरबाट निस्किइन् । गाउँमा माइत गइन् होला भनेर सोच गरेका गाउँले एक्कासि पाँचैजना कर्णाली नदीमा डुबेको भन्ने खबर पाएपछि स्तब्ध बने । गाउँले कर्णाली नदी किनारामा भेला भए बेपत्ता भएकालाई खोज्न ।

आमा सुकु बडुवाल र आठ वर्षीया छोरा ललित बडुवालको शव मंगलबार दिउँसो फेला परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए । १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ कर्णाली नदीमा सोमबारै साँझ भेटिएको हो । जलारीले जाल हाल्ने क्रममा शव भेटिएपछि प्रहरीलाई खबर गरेको बताइएको छ । पाँच वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । कर्णाली नदीमा गोताखोर टोलीसमेत परिचालन गरिएको छ । 

प्रकाशित मिति: : 2021-03-09 21:14:00

प्रतिकृया दिनुहोस्