प्रहरीको गल्तीमाथि यी साहसी युवतीको ‘छानबिन’ : दाजुको हत्याका आरोपी बल्ल कठघरामा !

लोकान्तर

काठमाडाैं

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृत्यु प्रकरणमा मृत्यु वा हत्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो।

तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शंकास्पदहरू न्यायको कठघरासम्म पुगेका छन्। राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पीडित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो? शंकास्पद आरोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बाध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ।

मृतककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्रहरी कार्यालयमा गरेको संर्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ।२ वर्षदेखि अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’मा पाइलट पढ्दै गरेकी सदीक्षाले दाजुको मृत्यु भएको खबर परिवारबाट पाइन्।

दाजुको मृत्युको खबरले निःशब्द बनेकी सदीक्षाले घरमा भनिन् – मैले नआउँदासम्म दाजुको अन्तिम दाहसंकार नगर्नू।

‘२ वर्षदेखि मेरो दाजुलाई प्रत्यक्ष देखेकी थिइनँ, मलाई अन्तिमपटक दाजुको अनुहार हेर्नु थियो, त्यसैले म नआउञ्जेल दाहसंस्कार गर्न पाइँदैन भनेकी थिएँ,’ सदीक्षाले लोकान्तरसँग भनिन्, ‘घटनाको दिन (पुस ५ गते) थाहा पाएँ तर टिकट भनेको समयमा नपाएकाले ८ गते राति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ल्याण्ड भएकी थिएँ ।’

रातिको समयमा आन्तरिक उडान नभएका कारणले उनी गाडी रिजर्भ गरेर पुस ९ गते बिहान ११ बजे उर्लाबारी घरमा पुगिन् । उनले दाजु प्रविणको अनुहार हेरेपछि दाहसंस्कार गरियो । १३ दिनको काजक्रिया भयो । यतिबेलासम्म उनलाई लागेको थियो, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको होला ।

‘परिवारले जाहेरी नदिए पनि प्रहरी प्रशासनले आफ्नो दायित्व पूरा गरिरहेको छ जस्तो लागेको थियो । यसैमा १ महिना बित्न लागे पनि घटनाको वास्तविकताबारे केही अत्तोपत्तो नभएपछि उनी प्रहरीमा बुझ्न गइन् ।

प्रहरीले त्यतिबेलासम्म घरधनी, प्रविणका साथीभाइलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरेर ६ दिनमा छाडिसकेको थियो । मृत्यु/हत्या घटनाको अनुसन्धानमा कानूनी रूपमा कोही पनि प्रहरी हिरासतमा थिएन । प्रहरीले घटनालाई सामसुम पारिसकेको थियो ।

प्रहरीको लापरवाही र निष्क्रियता देखेर उनले संघर्ष गर्ने निधो गरिन् । प्रहरी अनुसन्धान र गतिविधिमाथि प्रश्न उठाउँदै जनस्तरबाट छानबिन गर्न थालिन् । दाजुले न्याय पाउनुपर्ने र प्रहरी गल्ती गरेको भन्दै सामाजिक सञ्जाल ‘फेसबूक लाइभ’मार्फत उनले आवाज उठाइन् । लाइभ भिडियो देखेका स्थानीयले अनुसन्धान गर्न प्रहरीमाथि दबाब पर्ने गरी आन्दोलन गरेर सहयोग गरे ।

प्रहरी फेरि अनुसन्धान गर्न राजी भएपछि सदीक्षाले शंकास्पद व्यक्तिका नाममा किटानी जाहेरी दिइन् । पोस्टमार्टम रिपोर्टमा उल्लेख भएको कुरा र प्रहरीले भनेको कुरामा शंका लागेपछि उनले सम्बन्धित डाक्टरलाई रिपोर्ट देखाइन् । त्यसबाट सदीक्षाले नयाँ तथ्य थाहा पाइन्, जुन प्रहरीले लुकाइरहेको थियो । प्रहरीले मदिरा सेवनका कारण मृत्यु भएको बताइरहेको थियो ।

डाक्टरका अनुसार मेडिकल रिपोर्टमा ‘भाइलेन्ट एक्सप्रेसिया’ देखाएको र घाँटीमा २० सेन्टिमिटरको निलडाम भएको उल्लेख छ । रिपोर्टमा मृतकको छातीमा लामो थिचाइले गर्दा मृत्यु भएको भन्ने पनि लेखिएको पाएपछि सदीक्षाले त्यो कुरालाई फेसबूकमार्फत् नै बाहिर ल्याइन् । यसपछि प्रहरी नै शंकाको घेरामा पर्‍यो ।

मृतककी बहिनी सदीक्षाको निरन्तरको खबरदारीपछि प्रहरीले प्रविणको हत्यामा संलग्न भएको आरोपमा मेघर दर्जी, कुमार राई, रमेश गिरी र सुदीप परियारलाई पक्राउ गर्‍यो । 

पक्राउ परेका मेघर दर्जीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने उनका साथी कुमार राईलाई ३ लाख र घरधनी समेत रहेका रमेश गिरीलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको छ । सदीक्षाले बल्ल राहतको श्वास फेरेकी छन् ।

‘अनुसन्धानमा कमजोरी गर्ने इन्सपेक्टर कारवाहीको सिफारिसको लागि जिल्लामा तानिएका छन् । अन्यलाई पनि अदालतमा उभ्याइएको छ,’ सदीक्षाले लोकान्तरसँग भनिन्, ‘अब अदालतले न्याय दिलाउला ।’

प्रकाशित मिति: : 2021-03-09 15:29:00

प्रतिकृया दिनुहोस्