'युवा मारेको आरोप'मा प्रधानमन्त्री ओलीनिकट बास्कोटालाई लखेटे महिलाहरूले (भिडियो)

तेजन खड्का

उर्लाबारी

नेकपा एमालेका नेता युवराज बास्कोटालाई हत्यारा भन्दै मोरङ पथरीशनिश्चरेका महिलाहरूले कार्यक्रम स्थलबाटै लखेटेका छन्। गत पुस १४ गते पथरीशनिश्चरेको वडा नम्बर १० स्थित बास्कोटाको घरमा १९ वर्षीय युवा सञ्जीव भण्डारीको रहस्यमय मृत्यु भएको थियो। भण्डारीको निधनको राम्रो छानवीन नभएको तथा बास्कोटाले आफ्नो राजनीतिक शक्ति दुरुपयोग गरेको भन्दै पथरीशनिश्चरेका महिलाहरू आन्दोलित बनेका हुन्। 

पथरी बहुमुखी क्याम्पसमा आइतबार १ सय ११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेता बास्कोटा पुगेका थिए। यतिबेला कार्यक्रममा उपस्थित अढाई सयको संख्यामा रहेका महिलाले बास्कोटालाई ‘हत्यारा’ भन्दै जुत्ता तथा कुर्सी प्रहार गरेका थिए। 

महिलाहरूको आक्रोस देखेपछि बास्कोटा कार्यक्रम स्थलबाट भागेका थिए। बास्कोटाले यसअघि पनि आफूलाई प्रधानमन्त्री केपी ओलीको ‘खास’ मान्छे भन्दै हिँड्ने गरेका छन्। कार्यक्रम स्थलमा उनी प्रवेश गर्नेवित्तिकै स्थिति असमान्य बनेको थियो। आक्रोसित स्थानीय महिलाहरू आन्दोलित बनेपछि प्रहरीले कार्यक्रम स्थलबाट बास्कोटाको उद्दार गरेको थियो। 

के हो घटना?

गत पुस १४ गते बिहानै भण्डारीको शव नेता बास्कोटाका घरमा भेटिएको थियो। बास्कोटाले आफूसँगै मृतक भण्डारीलाई घर लिएर गएका थिए। 

नेकपा विभाजनको अवस्थामा पुग्दैगर्दा प्रधानमन्त्री ओलीले बास्कोटालाई केन्द्रिय सदस्यमा नियुक्त गरेका थिए । आफू शपथ खान काठमाडौं जानुपर्ने भन्दै केहि दिन उनको घर कुरिदिन नेता बास्कोटाले आग्रह गरेको आमा राधिका भण्डारीले बताइन्। बास्कोटाले आफ्नो छोरालाई पिए बनाउने र जागिर मिलाइदिन लोभमा सँगै हिँडाउने गरेको आमा राधिकाले बताइन्। 

छोरा बितेको २ महिना बितिसक्दा पनि बास्कोटाको दबाबमा प्रशासनले अनुसन्धान नगरेको मृतक भण्डारीकी आमा राधिकाको आरोप छ। उनले बिएल नेपाली सेवासँग भनिन्, ‘मेरो छोरालाई सधै ५ बजे नै ‘मर्निङ वाक’ मा लैजान्थ्यो। मेरो छोराको घटना भएको दिन मलाई किन ७ बजेपछि मात्र खबर गरियो?’  

आफ्नै घरमा दिउँसो बस्दा त ढोका लगाएर बस्ने मेरो छोरा अर्काको घरमा रातको समयमा कसरी ढोका नलगाई सुत्छ?–उनले भनिन्। 

‘घटनाको दिन प्रशासनपछि आफूलाई खबर गर्नुपर्ने तर आफूलाई नबोलाई आफ्ना दलका नेतालाई खबर गरेपछि मात्र आफूलाई बिरामी भएको छ भन्दै बोलाए,’ उनले घटना शङ्कास्पद भएको बताइन्। 

बास्कोटा काठमाडौं हुँदासम्म घटना नहुनु र उनी आएको पर्सिपल्टनै शव भेटिनुले पनि आफ्नो छोराको हत्या भएको उनका बुबा गोपाल भण्डारीको आरोप  छ। प्रहरीले भने उक्त घटनाको पोष्टमार्टममा ‘हाइपर टेन्सन’ का कारण मृत्यु भएको रिपोर्ट आएको र बाँकी कुरा भिसेरा रिपोर्ट आएपछि मात्र खुल्ने बताउने गरेको छ।

प्रकाशित मिति: : 2021-03-08 21:41:00

प्रतिकृया दिनुहोस्