ललितपुर महानगरलाई टेर्दैनन् ठूला करदाता

मालपोत, घरजग्गा तथा व्यवसाय करमा भारी छुटको अवसर दिँदा पनि ठूला करदाताले टेरेनन्, करिब २१ करोड कर उठाउन बाँकी

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । पटक–पटक कर तिर्ने वातावरण बनाइदिँदा पनि ठूला करदातालाई करको दायरामा ल्याउन महानगरलाई सकस हम्मेहम्मे परेको छ । 

ठूला करदातालाई करको दायरामा ल्याउन महानगरले राजस्व अनुगमन समिति नै बनाएको थियो । तर, अहिलेसम्म पनि ठूला करदाता करको दायरामा नआउँदा समिति नै मिलेमतोमा लागेको हो कि भन्ने आशंका उब्जिएको महानगर स्रोत बताउँछ । तर, समिति संयोजक रवीन्द्र महर्जन भने करदाताहरू कर तिर्न आउन थालेको बताउँछन् । ‘बिस्तारै–बिस्तारै करदाताहरू करको दायरामा आउन थाल्नुभएको छ । तर, ठूला करदातालाई करको दायरामा ल्याउन अलि गाह्रो भइरहेको छ,’ संयोजक महर्जनले भने ।

महानगरले ठूला करदातालाई कर तिर्न सहज वातावरण बनाउन भन्दै ‘कर वर्ष, २०७४’ घोषणा गरेको थियो । आर्थिक वर्ष ०७४-७५ भरि नै मालपोत, घरजग्गा तथा व्यवसाय करमा भारी छुटको व्यवस्था गरेको थियो । सोहीअनुसार मालपोत, घरजग्गा तथा व्यवसाय करको जम्मा बक्यौता रकममा १० प्रतिशत छुट गरिएको र विगतका वर्षहरूको बाँकी बक्यौतामा नियमानुसार लाग्ने जरिवाना शतप्रतिशत छुट व्यवस्था गरेको थियो । छुट घोषणा गरेको तीन वर्ष पूरा हुँदा पनि अझै करको दायरामा आउन सकेका छैनन् । जसकारण महानगरले करबापतको करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ । महानगरपालिकाकाअनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्थाले महानगरलाई ३० लाखदेखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी छ ।

प्रकाशित मिति: : 2021-03-06 19:13:00

प्रतिकृया दिनुहोस्