कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्याएका छन्।
छिन्चु सडकखण्डमा आज अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एक–आपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो। मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिएका छन्।
कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिकल कलेज दशबिघामा भर्ना गराएका छन्।
प्रदेश प्रमुख डा.अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पुर्याएको प्रहरी जवान रेग्मीले बताए। उनका अनुसार घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ।
प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन्। सोहीअन्तर्गत कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किँदै थिए।