भारतले चौथो तथा अन्तिम टेस्टमा इंग्ल्याण्डलाई इनिङ तथा २५ रनले पराजित गरेको छ। टेस्टको तेस्रो दिन शनिबार इंग्ल्याण्डलाई नराम्रोसँग पराजित गरेको भारतले चार टेस्टको शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको हो।
भारत यसअघि नै आइसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा प्रवेश गरिसकेको छ। उपाधिका लागि भारतले लर्डसमा १८ जुनमा न्युजिल्याण्डविरूद्ध खेल्ने छ।
चौथो टेस्टमा टस जितेर इंग्ल्याण्डले पहिलो ब्याटिङ रोजेको थियो। जसमा पहिलो इनिङमा २ सय ५ रन बनाएको थियो। प्रतिउत्तरमा भारतले विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको १ सय १ रनको सतकीय इनिङ तथा वासिङ्टन सुन्दरले अविजित ९६ रनको सहयोगले ३ सय ६५ रन बनाएको थियो। पहिलो इनिङमा भारतले १ सय ६० रनको बढ्त लिएको थियो। दोस्रो इनिङमा इंग्ल्याण्ड १ सय ३५ रनमै समेटियो।
भारतका लागि अक्षर पटेलले ९ विकेट लिए। उनले पहिलो इनिङमा ४ तथा दोस्रो इनिङमा ५ विकेट लिएका थिए। रवीचन्द्रन अश्विनले पनि ८ विकेट लिए। उनले पहिलो इनिङमा ३ विकेट तथा दोस्रो इनिङमा ५ विकेट लिएका थिए।
इंग्ल्याण्डविरूद्धको श्रृंखलामा रोहित शर्माले सबैभन्दा बढी ३ सय ४५ रन बनाएका छन्। पन्तले २ सय ७० रन बनाए।