नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका नेता जनार्दन शर्माले जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको बताएका छन्।
उनले सचिवालय सदस्यबाहेक सांसदहरूले छलफल गर्नुपर्ने उल्लेख गरेका छन्।
नेता शर्माले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु।’
नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ–आफ्ना बुझाइ रहेको बताउँदै नेता शर्माले जननिर्वाचित संसद समेत भंग हुने अवस्थासम्म पुग्नु सबैका लागि दुर्भाग्यपूर्ण अवस्था भएको बताए।
उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आ–आफ्ना बुझाइ रहेका छन्, ‘जे भए पनि जननिर्वाचित संसद समेत भंग हुने अवस्थासम्म पुग्नु हामी सबैका लागि दुर्भाग्यपूर्ण अवस्था हो। जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुनःस्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ।’
‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउद छु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ’ उनले भने।