अख्तियारका प्रवक्ता रिसाल भन्छन्: उजुरी दर्ता दुई गुणाले बढ्यो (भिडियो अन्तर्वार्ता)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले अख्तियारमा उजुरी दर्ता दुई गुणाले बढेको बताएका छन्। 

बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै प्रवक्ता रिसालले भने, ‘ चालु आर्थिक बर्षको पुष महिनामा भन्दा माघ महिनामा झन्डै दुई गुणा बढि उजुरी दर्ता भएको छ।’

अख्तियारमा पुष महिनासम्म ६ सय ५९ उजुरी दर्ता भएकोमा माघ महिनामा त्यो बढेर ११ सय ६९ पुगेको छ।

अख्तियार प्रमुखको रुपमा प्रेमकुमार राई नियुक्त भएपछि उजुरीको संख्या बढेको हो। संवैधानिक परिषद्को मंसिर ३० को निर्णयले राईलाई प्रमुख आयुक्त नियुक्तिका लागि सिफारिस गरेको थियो। उनले अख्तियारमा माघ २० मा पद्भार ग्रहण गरेका थिए। 

गत आर्थिक बर्षमा कूल २५ हजार १ सय ५२ उजुरी दर्ता भएकोमा गत आर्थिक बर्ष नै १६ हजार ९ सय ५२ उजुरी फछर्यौट भएको तथा बाँकी रहेको ८ हजार २ सय ६९ उजुरी चालु आर्थिक बर्षलाई जिम्मेबारी सरी आएको प्रवक्ता रिसालले बताए।

भने, ‘चालु आर्थिक बर्षको माघ मसान्तसम्म ८ हजार ३ सय ७९ उजुरी दर्ता भइसकेको छ।’

यसमा सबैभन्दा बढि उजुरी स्थानीय तहको अनियमिततालाई लिएर परेको छ। ‘कूल उजुरीको ३२ दशमलव ७७ प्रतिशत स्थानीय तहको छ’, प्रवक्ता रिसालले भने। यस्तै शिक्षा तथा भूमि प्रशासन सम्बन्धि उजुरी क्रमशः १६ दशमलव ०३ र ९ दशमलव ०१ प्रतिशत परेको छ।

अख्तियारले चालु आर्थिक बर्षमा ६ हजार ५ सय ५ वटा उजुरी फछर्यौट भएको बताउँदै रिसालले भने, ‘चालु आर्थिक बर्षको माघ मसान्तसम्म अख्तियारले बिशेष अदालतमा ७२ वटा मुद्धा दर्ता गरेको छ।’

गत आर्थिक बर्ष अख्तियारले बिशेष अदालतमा ४ सय ४१ मुद्धा दर्ता गरेको थियो। चालु आर्थिक बर्षमा अख्तियारले ५३ स्ट्रिगं अपरेसन गरेको छ। 

 

 

प्रकाशित मिति: : 2021-03-02 19:03:00

प्रतिकृया दिनुहोस्