अवैध गिटी बालुवा उत्खननमा रोक लगाउन पालिकाहरुलाई सिडियोको निर्देशन

विजय साह

जनकपुर

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अवैध उत्खननमा रोक लगाउन पालिकाहरुलाई निर्देशन दिएका छन्। प्रजिअ बास्तोलाले सोमबार पालिकाहरुलाई पत्र लेखेर अवैध उत्खननमा रोक लगाउन निर्देशन दिएका हुन्।

उनले जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकालाई कमला नदी आसपासको क्षेत्रबाट भइरहेको अवैध गिटी, वालुवा र ढुङ्गा उत्खनन रोक्न भनेका छन्।

अवैध तथा अनियन्त्रित उत्खननबाट कमला नदीको बाँधमा समेत क्षति पुग्न सक्ने हुँदा त्यस्तो उत्खनन संकलन कार्यलाई पूर्णरुपमा रोक लगाउन र आवश्यक कारवाही गर्न भनिएको छ।

आइइई र इआईए भई रितपूर्वक ढुङ्गा, गिटी र वालुवाको उत्खनन सम्बन्धी ठेक्का वा अमानत भएका बाहेक कमला नदी आसपासका क्षेत्रबाट अवैध उत्खनन गरिरहेकाले कमला नदीको बाँधमा क्षति पुग्न गई हुनसक्ने ठूलो विपद् र क्षति नियन्त्रणमा सहयोग गर्न अनुरोध समेत प्रजिअ बास्तोलाले गरेका छन्।

उनले यस नियन्त्रण कार्यका लागि सुरक्षा निकायबाट पूर्ण सहयोग रहने हुँदा नजिकका सुरक्षा इकाईसँग समन्वय गर्न पालिकाहरुलाई लेखेको पत्रमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-03-01 16:19:00

प्रतिकृया दिनुहोस्