सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ।
मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेका छन्।
आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन्।
मृतकका भाइ नवीनकुमार यादवका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको हो।
आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए। मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।