लोभलाग्दो भूगोलका सिपालु माण्ठ (भिडियोसहित)

काञ्जिरोवा हिमालको काखैनिर छ, गुठीचौर गाउँपालिकाको गडीगाउँ। जुम्लामा दुईवटा गडीगाउँ छन्। एक सियाला गडीगाउँ जुन पातरासी हिमालको काखमा छ। अर्को पाडा गडीगाउँ।

प्रसिद्ध भूगोलविद् हर्क गुरुङको पुस्तक 'मैले देखेको नेपाल' मा सियाला र पाडाबारे प्रष्ट पारिएको छ। पाडा भनेको पारिलो घाम लाग्ने ठाउँ। सियाला भनेको शितल हुने। तुलनात्मक रुपमा चिसो हुने ठाउँ।

हिमालको काखनेर लोभलाग्दो समथर भूगागमा छ गडीगाउँ। गाउँ पारिलो ठाउँमा अवस्थित भए पनि चिसो हिमाली सिरेटोका अगाडि कसका के तागत? बहादुरै हुँ भन्नेलाई पनि हायलकायल बनाइदिन्छ। अनि निशङ्कोच पस्छ, भुणारसम्मै (भण्डार गृह) चिसो।

चिसोलाई छेक्ने न बार छ, न काँडेतार। त्यसका लागि एउटै उपाय हो त्यहीँको भूगोलमा बानी परेका र चिसो सिरेटो सहेका, भेडाबाख्राको उन र त्यसबाट बनाइएका राडी, पाखी।

त्यसैले गाडीगाउँका मक्क बहादुर बस्नेत हिउँदको फुर्सदिलो समयमा भेडा, बाख्राको उनबाट चिसो छल्नलाई राडीपाखीदेखि नयाँ–नयाँ आइटमका ओड्ने ओछ्याउने बनाइरहेका छन्।

जुम्लीहरु चैतदेखि जेठ, असरसम्ममा बर्खे बाली, भदौ असोजदेखि मंसिरसम्ममा हिउँदे बाली लगाउन लाग्छन्। त्यपछिको फुर्सदिलो समयमा लेकगाड गर्छन्।

वस्तुभाउ नहुनेहरु हिउँद व्यापार र पल्लादारी गर्न भारतसम्म जान्छन्। बेरोजगारीको भेलले केहीलाई विदेसम्म पुगाएको छ। उनका भाइ पनि विदेश जाने तरखरमा छन्।

वस्तुभाउ हुनेहरु साउनको भेलसँग जोरी खोज्दै लेक, गाड गर्छन्। खासै अरु काम नहुने, रित्तो पुस भनेर चिनिने फुर्सदिलो समयमा घर भरिने गरी भेडा, बाख्राको उन र घोडाको पुच्चर र जग्गर (गर्धनका रौँ) का राडी, पाखी र जेउडा बनाउँछन्। तिनैमध्येका एक हुन्, उनी।

माघको महिना हामी गाडीगाउँ पुग्दा उनी ओच्छ्याउने नयाँ डिजाइनको लिउ जस्तो तर त्याे भन्दा पनि न्यानो हुने वस्तु बनाउँदै थिए।

हेर्दा गलैंचा जस्तो देखिने। हामीले यो के हो भनी गरेको प्रश्नको जवाफमा उनले भने, 'यो ओच्छ्याउने हो। गलैंचा टाइपको छ। तातो असाध्यै हुन्छ। शित पस्न दिदैन। एकदम पथि(स्वास्थ्यका लागि फाइदाजनक) हुन्छ।'

उनले यो व्यवसायिक प्रयोजनका लागि गरेको होइनन्। घरमा पालेका वस्तुभाउको उन उपयोग गर्नलाई। घरमा प्रयोग गर्नलाई हो।

कर्नालीको इतिहास अध्ययन गर्दा अर्थतन्त्रलाई आत्मनिर्भर र मजबुत बनाउन यसरी घरमै बसेर भेडा, बाख्रा पालेर भोट मधेस गर्ने र घोडा पालेर पाटनदेखि विदेशसम्म व्यापार गर्नेको महत्त्वपूर्ण योगदान भेटिन्छ।

हरेक वर्ष भेडा, बाख्राका रौँ बड्छन्। बर्खा लाग्नेबेला काटेर उन जम्मा गरिन्छ। हिउँदमा त्यसबाट राडी, फेरुवा, लिउ, पाखो (कोट र सुरुवाल बनाउने मसिनने धागोवाला उनको कपडा), स्वीटर, मोजा, दोचा, पञ्जा आदि।

भारी बोक्नलाई चाहिने जेउडा घोडाघोडीका पुच्छरका रौँबाट बनाइन्छ, ती २५ वर्षसम्म टिक्छन्।

त्यसका लागि सुरुमा डोरी बनाउनुपर्छ। डोरी बनाउने मेसिन नभएर हातैले हो। गाई, भैंसी, भेडा, बाख्रा चराउँदा चराउँदै पनि उन कात्न (डोरी बनाउन) सकिने। दोहोरो काम हुने हुनाले जुम्लीका हात खाली हुँदैनन्।

त्यसैले जुम्लीले दाङमा देउडा खेल्नेबेला जुम्लीका चौबीस घण्टा हात खाली हुँदैनन् भनेनर गिज्याएछन्। देउडा यस्तो छ।

'जुम्ला जान्या जुम्ली दाइको काम कति हुँदो हो।
चाैबीस घण्टा हात खाली नाई सित्ति मन रुँदो हो।।'

यतिसम्म कि एउटा गाउँदेखि अर्को गाउँ पाहुन र भलाद्मी लाग्न जाने पनि ताखु घुमाउँदै, ऊन काद्दै, डोरी बनाउँदै हिड्न सक्छ।

बेफुर्दको बेला बनाएर राखिएका उनका धागोबाट हिउँदको फुर्सदिलो समयमा तयार हुन्छन् घर भरिने ओड्ने ओेच्छ्याउने देखि लिएर लत्ताकपडा सम्म।

मेहनत धेरै लाग्ने भएकाले घरको प्रयोगबाहेक व्यावसायिक रुपमा जान नसकेको उनले थपे। समय धेरै लाग्छ।

यो बनाउन लागेको पाँच दिन भैगो,' उनले भने, 'बजारसम्म लिएर बेच्ने मान्छे छैनन्। गाउँमा किन्न कोही आउँदैनन्। अब आफूकन त हुन्या भया।'

पछिल्लो समय भेडाको उनबाट राडी पाखी, स्वीटरको बजारीकरण भइरहे छ तर क्रेताहरु गाउँसम्म नपुगेपछि मक्कबहादुरको सीपले बजार पाउन सकेको छैन।

उनको सीपले बजार नपाएपनि ओड्ने ओछ्याउनेको लागि बजार धाउनुपरेको छैन। गोडीगाउँजस्तै टाढाको भूगोलका मान्छेहरु आजपनि आफ्नै सीप र कर्मले बाँचेका छन्। घरेलु अर्थतन्त्रलाई मजबुत बनाइरहेका छन्।

प्रकाशित मिति: : 2021-03-01 12:11:00

प्रतिकृया दिनुहोस्