पर्सा जिल्लाको देहातमा रहेको सुहपुर भन्ने गाउँ वीरगञ्जदेखि पश्चिम–उतर कुनामा अवस्थित छ। हुलाकी राजमार्ग बनेपछि देहाती जनजीवनलाई वीरगञ्जसँग नजिक भएको छ।
वीरगञ्जदेखि बहुअर्वा–पोखरिया हुँदैे सुहपुर करिब २५ किलोमिटर टाढा पर्छ– सोहपुर। वीरगञ्जदेखि बहुअर्वा–माधोपुर हुँदै जाँदा करिब १९ किलोमिटर टाढा पर्छ।
विगतमा सडकको दूरावस्था र खोलानालामा पुल नहुँदा यो दुर्गम क्षेत्रको रुपमा विद्यमान थियो। विगतमा सरकारबाट पक्षबाट उपेक्षित देहातको अवस्था कालान्तर सुधारोन्मुख छ।
सोही क्षेत्रमा एक वृद्ध बसोबास गर्छन्– १०८ वर्षीय जीतमनदास थारू । उनले उहिलेको हैजा महामारीदेखि अहिलेको कोरोना कालसम्म देखेका छन्। उनीसँग भेट गराएका थिए –सामाजिक अभियन्ता ब्रिजेश्वरप्रसाद चौधरीले।
वीरगञ्जदेखि सुहपुर क्षेत्रको यात्राको क्रममा गहुँ र तोरीबारीको मनमोहक दृश्य अवलोकन गर्दै हामी सुहपुर पुग्यौं। सँग भेट भयो। दिउँसोको समयमा उनी घरअगाडि घाम ताप्दै थिए।
वृद्ध १०८ वर्षीय जीतमनदास थारूसँग सम्वाद सुरु भयो। उनीसँगको मेरो संवाद मोहनसाह तेली, सुरेन्द्र ओझैया, भोलाराम थारु, उनका छोरा नागेन्द्रदास थारु लगायतले चाखपूर्वक सुनिरहेका थिए।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४, सोहरी टोलमा उनको घर छ। ‘सुहपुर’ र ‘सोहरी’ छिमेकी गाउँ हुन्। यद्यपि ‘सुहपुर–सोहरी’ संयुक्त रुपमा भन्ने चलन सदियौँदेखि छ। स्थानीयहरु सुहपुरका होउन् वा सोहरीका, ‘सुहपुर–सोहरी’ भन्दै परिचय दिन्छन्।
जीतमनदास थारूको जन्म विसं १९६९ सालताका पैतृक स्थल जगरनाथपुर गाउँमा भएको थियो। मानसिक त्रासका कारण झण्डै ५० वर्षअघि उनी जगरनाथपुरबाट सुहपुरमा बसाइँ सरेको उनले जानकारी दिए।
चरम वृद्धावस्थामा पनि नित्यकर्म आदिको सवालमा उनलाई कसैको सहयोगको आवश्यकता पर्दैन। उनी आफैँ भ्याउँछन्। सक्षम छन्। कहिलेकाहीँ पेट दुख्नेबाहेक अन्य रोग छैन।
उनको विवाह सात वर्षको उमेरमा जन्मथलो जगरनाथपुरबाट भएको थियो। उनी विवाह गर्न पालकी चढेर नजिकैको गाउँ सुगौली गएका थिए। तिलक र दहेजको चलन थिएन। दुलही र दुलहा पक्षले आ–आफ्नो तर्फको खर्च आ–आफैँले व्योहोर्ने प्रचलन थियो।
जन्तीलाई ‘पका–पकाई’ अर्थात् दही, चिउरा, चिनी र नून–खुर्सानी खुवाईन्थ्यो। सक्नेले तरकारीको पनि प्रबन्ध गर्दथे। आजको जस्तो दहेजमा मोटो रकम लिनुका साथै खानामा माछा, मासु भन्दै दबाब दिने प्रचलन थिएन।
उनका तीन सन्तान थिए। एउटा दुःखद् घट्ना घट्यो। १६ वर्षीय जेठो छोराको विवाह तय भइसकेको थियो। विवाहको तयारी भइरहेको थियो। परिवारसँगै आफन्तजन, इष्टमित्र तथा गाउँलेहरुलाई निम्तो (हल्दीले रङ्गेको सुपारी) वितरण भइसकेको थिए। जन्ती जाने भन्दै सबै खुशी थिए। विवाहको केही दिनपूर्व अचानक छोराको निधन भयो।
उनमा पहिलेदेखि कुनै बिमारी थिएन। गाउँ शोकमग्न भयो। खुशियाली विस्मतमा परिणत भयो। जेठो छोराको पीडा कम नहुँदै एक वर्षभित्र १२ वर्षीय माहिलो छोराको पनि निधन भयो। उनी भन्छन्, ‘बुबाको काँधमा सन्तानको पार्थिव शरीर उठ्नुभन्दा बढी दुर्भाग्यपूर्ण अवस्था केही हुन सक्दैन। सन्तानको काँधमा मेरो शव उठ्नु पर्नेमा उल्टो भयो।’ शोक र असह्य पीडाले भोक र निद्रा हराएर गयो। घरभित्र छिर्न पनि डर लाग्थ्यो।
दुई छोराको मुत्युले मन र मस्तिष्क आक्रान्त भयो। पूरा परिवार तनावमा थियो। उनले स्मरण गरे, ‘अन्ततः गाउँ छाड्ने निधो गरेँ। वृद्ध बुबा, पत्नी र कान्छोे छोरासहित जगरनाथपुरदेखि तीन किमिपूर्वतर्फ पर्ने सुहपुर गाउँमा सरेँ।’
सुहपुर गाउँको दक्षिणतर्फ गङ्गोल नदी थियो। वर्षात्को बेला जोखिम मोलेर नदी वारपार गर्नुको विकल्प थिएन। करिब सात दशकअघि सबैभन्दा नजिकको हाट भनेको देउरवाना, जिराभवानी तथा सीमावर्ती इनरवा र सिकटा बजार थियो। उनले सम्झे, ‘मोहोरिया पैसा त चलनचल्तीमा धेरैपछि आएको थियो। म बच्चादेखि युवा अवस्थामा आइपुग्दासम्म केवल भारतीय रुपैयाँबाट कारोबार हुन्थ्यो। जग्गा–जमिन, अन्नपात, गाईवस्तु लगायतको हरेक कारोबार भारुबाट नै हुने गर्दथ्यो।’
अहिले युवाहरुले खेल्ने खेलमध्ये उनलाई फूटबाल मात्र थाहा छ। क्रिकेटको नाम सुनेका छन् तर कसरी खेल्छन्, केही थाहा छैन। उनलाई आफ्नो जमानाको खेल याद छैन अपितु खेल्ने तरिका र नियमकानून लगायत सबै कुरा अहिलेसम्म मन र मस्तिष्कमा ताजै छ। थाडी–टीका, गुलीटाँड, कबड्डी, चिनियाबेदाम, लट्टु लगायतका खेलहरु उनी बाल्यकाल र युवाअवस्थामा खेलेका रहेछन्। उनले भने्, ‘अपवादबाहेक अहिलेका पुस्तालाई यी खेलहरुबारे शायदै थाहा होला।”
साइकल पनि धेरै पछि आएको थियो। त्यसको धेरैपछि मोटरसाइकल देख्न पाइएको थियो। उनका बेला सवारीसाधनको सवालमा दुईवटा मात्र साधन थियो। उनी मुसुक्क हाँस्दै भने, ‘पहिलो थियो आफ्नै दुई खुट्टा र अर्को थियो गडी (बयलगाडा)। बयलगाडा ढुवानी र सवारी साधनको रुपमा प्रयोग गरिन्थ्यो। कसै–कसैसँग मालसमान ढुवानी गर्न घोडा पनि हुन्थ्यो।’
उनले जीवनमा वीरगञ्जको यात्रा कति पटक पैदल गरे, होला भन्न कठिन छ। बुढेसकाल लागेपछि बसको सवारी गरेको हुन्। हिँडेर सीमावर्ती शहर सिक्टा जानुपथ्र्यो। रेल चढेर रक्सौल पुग्थे। त्यसपछि पैदल वा टाँगा चढेर वीरगञ्ज जान्थे।
जितमनदास धेरै पटक सिक्टा भएर वीरगञ्ज गएका हुन्। सुहपुरदेखि सिक्टा–रक्सौल हुँदै वीरगञ्ज आइपुग्दा साँझ परिसक्थ्यो। पोखरिया हुँदै वीरगञ्ज पैदल आउँदा कम्तिमा पाँचदेखि छ घण्टा समय लाग्थ्यो। पहिले र अहिलेको सवारी र सडकको सुविधा मूल्याङ्कन गर्दा पहिले उनको गाउँ दुर्गम नै थियो भन्नुपर्छ। अचेल हुलाकी राजमार्गले उनको गाउँदेखि वीरगञ्जको दूरी केवल ३० मिनेटको छ।
जितमनदासले भारतको बिहारबाट आउने शिक्षकसँग अनौपचारिक शिक्षा हासिल गरेको बताउँछन्। ती शिक्षकहरु प्रत्येक वर्षको कात्तिक महिनादेखि वैशाखसम्म पढाउँथे। अनिवार्य रुपमा प्रत्येक शनिवार दिइने ‘शनिचरा’ मा चामल, दाल र तरकारी दिनुपथ्र्यो। त्यसको अलावा मासिक पारिश्रमिकको सवालमा भारु ५० पैसादेखि रु. १ सम्म गुरु दक्षिणा दिनुपथ्र्यो।
ती शिक्षकबाट हासिल गरेको लेखापढीसम्बन्धी ज्ञान उनको आम्दानीको स्रोतमा परिणत भएको थियो। निवेदन र तमसुक लेखेबापत वीरगञ्जमा नगद पाइन्थ्यो, गाउँमा चाहिँ अन्नपात पाइन्थ्यो।
उनले तत्कालीन नापी तथा मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई करिब चार वर्षसेवा प्रदान गरे। २००४ सालमा वीरगञ्ज छाडेको उनले बताए।
२००८÷०९ सालताका पहिलोपटक काठमाडांैको यात्रा गरेको सम्झना उनलाई छ। वीरगञ्जदेखि हेटौँडाबाट भैंसे हुँदै बाइरोडको यात्रा गरेका रहेछन्। उक्त यात्रामा असाध्यै डर लागेको उनलाई केही अविस्मरणीय पल अहिलेसम्म स्मरणमा छ। बिर्सेका रहेनछन्। उनले भने, ‘बाइरोडमा अनगिन्ति घुम्तीहरु देखें, करिब पाँचसय घुम्ती गिन्ती गरेपछि वाक्कदिक्क लागेर गिन्ती गर्न छोडिदिएँ।’ त्यतिबेला पहिलो पटक धरहरा चढेका थिए– उनी। त्यसपछि पनि काठमाडौ जाँदा सुन्धारा चढ्न बिर्सिन्नथे।
वि.सं. २०७२ को भुइँचालोमा धरहरा भत्केको समाचार सुनेपछि उनी असाध्यै दुःिखत् भएका थिए। उनले भने, ‘सुन्धारा होइन, भूइँचालोले नेपालको एक इतिहासलाई बिलीन पारिदियो। अन्त्य गरिदियो। त्योभन्दा राम्रो बन्न सक्ला तर मैले हेरेको र चढेको सुन्धारा हाम्रा आगामी पुस्ताहरुले देख्न र चढ्न पाउने छैनन्।’
सिमरामा भएको ‘चिलगाडी’ (हवाइजहाज) को दुर्घटना हेर्न उनी वीरगञ्जदेखि रेल चढेर सिमरा गएका थिए। सिमरा रेल्वे स्टेसनमा टिकट मास्टरको रुपमा कार्यरत सोलखपुरका आफन्त शंकर चौधरीको कारण रेलको यात्रा सम्भव भएको उनी सम्झन्छन्।
वि.सं. १९९० सालको भूइँचालो धेरै शक्तिशाली रहेको उनी सम्झन्छन्। उनले भने, ‘यस्तो लाग्थ्यो कि धर्तीको सतहमुनि महाभारतको युद्ध भइरहेको छ। गड्गडाहट यति भयानक थियो कि मानौं जमिनमुनि तोप चलिरहेको छ।’ उनी धर्ती धाँजा फाटेको, धाँजाबाट पानी निस्केको प्रत्यक्ष देखेका रहेछन्। दाइँ गर्न दुईवटा खलिहानमा बिछ्याइएको धान धाँजा भित्र विलिन भएको थियो।
आफ्नो दीर्घ–जीवनमा उनले दुई सन्तानको अवसान, हैजाको महामारी र विसं १९९० को भूइँचालोलाई असाध्यै डरलाग्दो र भयावह अवस्थाको रुपमा सम्झिरहन्छन्। देहाती जीवनशैलीमा सुखसुविधा शून्य थियो। जीवन कडा परिश्रममा आधारित थियो। खेतीकिसानीदेखि यात्रासम्म शारीरिक श्रममा निर्भर थियो।
त्यसैले बिमारीलगायतका समस्याहरु कम हुन्थ्यो। असाध्य बिरामी परेमा चिकित्सालयको अभावले बाँच्ने अवस्था ‘भगवान भरोसे’ थियो। हैजादेखि कोरोनासम्म देखेका पुरनियाहरु जिउँदा इतिहास हुन्।