मेरो घर लुट्ने, मेरो जग्गा लुट्ने अनि मेरै भाषा मास्ने सरकार!

आयोमेल

काठमाडौँ

सृजना घिमिरे 

बेला-बेला गला अवरुद्ध भइरहेको थियो। तर सकि-नसकि उनी चिच्याइरहेकी थिइन्। जुन चिच्याहटमा आक्रोशभन्दा धेरै पीडा थियो। नहोस् पनि कसरी ? रगत पसिना एक-एक गरेर जोडेको घरजग्गाबाटै आज उनीहरु लखेटिँदैछन्। उनी अर्थात् सुशीला महर्जन। उनको परिवारले १९ वर्षअघि काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकास्थित थलीमा तीन लाखमा २ आना जग्गा किनेको थियो। सोही जग्गामा उनीहरुले घर बनाएका थिए। तर अहिले सरकारले सडक विस्तार गर्ने नाममा उनीहरुको उठिबास बनाएको छ। त्यसैले उनी सरकारविरुद्ध सडकमा आएकी छन्। 

'हाम्रै करले पालिएको सरकारले हामीमाथि दमन गर्ने ?' आक्रोशमिश्रित भावमा उनी प्रश्न गरिन्, 'हामीले हाम्रो गाँस कटाएर दुःखले जोडेको सम्पत्ति हो। नमिल्ने भए सरकारले रोक्का राख्नु पर्थ्यो। हामी किन्ने नै थिएनौं। त्यो हाम्रो सम्पत्ति हो । हाम्रो सम्पत्तिमा हाम्रो अधिकार हुन्छ। के हामीलाई टुँडिखेलमा घर बनाउन सरकारले दिन्छ ?'

खासै लेखपढ गर्न नजानेकी सुशीलालाई नियम-कानुनका कुरा धेरै थाहा छैन। तर सर्वोच्च अदालतको 'स्टे अर्डर' पछि पनि जनताका घरमा डोजर चलाउनु दमन हो भन्ने उनले ठानेकी छन्। ' मलाई धेरै कुरा बोल्न आउँदैन। मैले धेरै कुरा जानेको पनि छैन । तर यतिका जनता रोई कराई गर्दा नसुन्ने कस्तो सरकार, के-का लागि सरकार ? यो सरकार हामीलाई चाहिँदैन,' उनले भनिन्।

प्रकाशित मिति: : 2021-02-26 22:29:00

प्रतिकृया दिनुहोस्