मध्यपुर युथ एसोसिएसनकाे पहिलो जित

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले पहिलो जित निकालेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मध्यपुरले टुसाल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। 

टुसालविरुद्धको जितमा मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक–एक गोल गरे।

खेलको २३ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई १–० गोलको अग्रता दिलाए। ६० औं मिनेटमा कैलाशले गोल गरेपछि मध्यपुरले टुसाललाई २–० गोलअन्तरले पराजित गरेको हो।

मध्यपुरले जितसँगै सात खेलबाट चार अंक बटुलेको छ। पराजित टुसाल भने लिगको सातौं स्थानमा छ। टुसालले सात खेलबाट आठ अंक बनाएको छ।

प्रकाशित मिति: : 2021-02-26 18:36:00

प्रतिकृया दिनुहोस्