‘लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नगरप्रमुख नृपबहादुर वडले लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टस धनगढीको आयोजनामा हुने विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणको ट्रफी सार्वजनिक गरेका हुन्।
सो अवसरमा उनले क्रिकेट खेलको विकास, विस्तार र खेलप्रति जनचेतना बढाउन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए।
लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले देशभरीका विद्यालयको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको बताए।
प्रतियोगिताबाट विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट खेलाडी बाहिर आइरहेका र आफ्नो क्षमतालाई विकास गर्न सक्षम भइरहेकाले यो प्रतियोगिता गरिराख्न हौसला मिलेको उनको भनाइ छ।
देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछन्।
त्यस्तै उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन्।
विगत वर्षदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा फागुन १५ देखि २९ गतेसम्म सञ्चालन हुने बताइएको छ। रासस