गौरव पोखरेल
बौद्ध–६, तिनचुलीस्थित घरमा सुतिरहेका जापानी नागरिक तेञ्जिङ सिमिजु राति २ बजे भाडाकुँडा बजेको सुनेर ब्युँझिए । दर्के पानी परिरहेका वेला रातमा अस्वभाविक आवाज सुनेर उठेका उनी अज्ञात समूहको आक्रमणमा परिहाले ।
कसैले पछाडिबाट टाउकोमा हाने, उनी अर्धबेहोसी अवस्थामा पुगे । एक वर्षअघिको घटना अहिले अहिले सम्झँदा उनलाई जिरिंग हुन्छ । भन्छन्, ‘२७ असार २०७६ को त्यो रात म कहिल्यै भुल्ने छैन ।’
उनले अर्धबेहोसी हालतमै देखे, ‘श्रीमतीको हात डोरीले बाँधिएको थियो, दुई छोराको घाँटीमा कर्द थियो ।’
उनले आक्रमणकारीसामू हात जोडे, जीवनको भिख मागे । तर आक्रमणकारीले ‘पुलिस हो’ भने । तर प्रहरी खुकुरी लिएर मध्यरातमा नागरिकको घरमा छिर्ने कुरै थिएन । उनले ‘गल्ती भयो होला, म त भर्खर जापानबाट आएको’ भन्दै जवाफ फर्काए । त्यसपछि अल्मलिएको जस्तो देखिएका आक्रमणकारीले मोबाइलबाट उनको तस्वीर खिचे । पासपोर्ट मागे र कसैलाई त्यसको फोटो पठाए ।
सायद योजनकारले सही घरमा प्रवेश गरेको संकेत दिएर होला, आक्रमणकारी जंगिए, ‘समन्वय गर्नु नत्र मार्दिन्छु ।’ सिमिजुले जवाफ फर्काए, ‘के चाहिन्छ लानु तर, परिवारलाई केही नगर्नू ।’ श्रीमती मुजुमी र छोराहरु १२ वर्षीय नुर्बु र ११ वर्षीय झिग्मी अगाडि नै बन्धक भइसकेकाले त्यसो भन्नुको विकल्प उनीसँग थिएन ।