छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो। अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जीवनको उर्वर समय बिताइन्। यो बीचमा न भुटान फर्किन सकिन् न त नेपाली भन्न सक्ने कानुनी आधार प्राप्त गरिन्।
भन्छिन्, ‘न यताको न उताको, बाटोको जुत्ताजस्तै हाम्रो जिन्दगी।’ छाडेर जाने आफन्त तेस्रो देश पुनर्वासमा गए। नौ जनाको परिवारमा शिविरको झुपडी कुर्ने राई दम्पती र वृद्धा आमा आशामती मात्रै छन्।