सामाजिक सञ्जालमा एउटा तस्बिर खुब भाइरल भयो, दुई ठाडामाथि सुतेकी (लाशको अभिनय) एक नारी शरीर। उसलाई बोकिरहेका केही तन्नेरी। प्रेम सप्ताहको अङ्कमाल दिवसको दिन धेरै तरुण/तन्नेरी सामाजिक सञ्जालमा शुभकामना बाँडिरहेका थिए। बलात्कार र सरकारको प्रतिगमनविरुद्ध स्वतन्त्रताका लागि केही न केही गरिरहेका थिए। तिनैमध्ये एउटा समूहको विरोधको शैली रहेछ, त्यो तस्वीर।
अङ्गालो दिवसको दिन काधमा सुतिरहेकी तन्नेरी केटी, अनि केही प्रतिगमनको मलामी हिँडेका तन्नेरी केही बोलिरहेका थिएनन् तर सरकार यो कुरा बुझ्दछ भने अब भन्न केही बाँकी छैन।
व्यापारीले निर्माण गरेका केही नयाँ दिवसहरु रोज डे, चक्लेट डे, भ्यालेन्टाइन डे मनाउँदा हामीलाई गौरव लागिरहेको छ। विश्व बजारबाट चक्लेट र गुलाफ नेपाल आइपुग्छन्। आहुतिको भाषामा यो सब हर्कत दलाल पूँजीवादीको हो।
मध्यरातमा लेखक आहुतिले फेसबुकवालमा यो कलालाई प्रतिगमन देख्नुभयो र कुरा राख्नुभयो। त्यो समूह रातारात केपी शर्मा ओली बराबरकै प्रतिगामी देखियो। कारण थियो– उनीहरुको काँधमा झुण्डिरहेको मृत जनै। जनैको कुरा सुरु गर्नुअघि यो कुरा अवगत गराउन चाहन्छु, म अजनैधारी हुँ।
जुन दिन मलाई थाहा भयो, यो जनै मृत जनै हो। त्यसै दिन म ब्रम्हपासोबाट मुक्त भए र कसैले जनै लगाएको जानकारी दियोभने वा कसैले त जनै लगाउँछस् कि नाइँ? भनेर सोध्यो भने उ को हो? उसको मानसिकता कस्तो हो, थाहा हुन्छ।
मेरा बा ब्राह्मण भएकाले मेरो एउटा परिचय त्यो पनि हो। म जनैले बोकी ल्याएको विभेद, सामन्तवादको प्रत्यक्षदर्शी पनि हुँ। जनैले विभेद बोकी हिँडेको छ भन्नेमा दुईमत छैन तर त्यो फोटो हेर्दा, मलाई त्यस्तो कुनै महसुस भएन।
यस्तो लागिरहयो म काठमाडौँ हुँदा यही समूह विभिन्न साहित्यिक कार्यक्रम, नाट्य घर, चिया पसलका बेञ्चमा बसिरहेको देखिरहन्थे। हिजो जनै के कसरी आयो त्यो सबै बुझ्दा आजको जनै मृत जनै हो– प्राणविहिन त छदैछ, विभेदपूर्ण पनि हो।
जनैको महिमा गानगर्ने भन्दा रहेछन्, जनैका तीन डोराले विभिन्न कुराको ब्याख्या गर्छ भनेर। उनीहरुसँग मेरा केही प्रश्न छन्? तीन डोराले- आत्म, बोली र कर्मलाई जनाउँछ। भन्नाले जनै लगाउने मान्छेको आत्मले जे सोच्छ, त्यही बोली बोल्छ र त्यही कर्म गर्न थाल्छ। भनेपछि आज त्यसो गर्ने कति छन्? म चैँ सतप्रतिशत यसो गर्दिन र आहुती पनि गर्नुहुन्न होला।
यदी आफू पूर्ण रुपमा त्यस्तो छैन भने जनै बोकेर विभेद किन गर्ने?
जनैका तीन डोराले तीन गुण पनि जनाउँदो रहेछ- सत्तो, रजो र तमो। यदि म तमो गुणको मान्छे हुँ भने मैले रजो र सतो गुण किन बोक्ने? अनि आहुति मार्क्सवादको दर्शनको व्याख्या गर्दा भन्ने गर्नुहुन्छ– विज्ञान पुगेको सुक्ष्म ठाउँ भनेको तरंग हो। त्यहाँ पनि पोजेटिभ र नेगेटिभ चार्ज भेटिन्छ भनेर। अनि माथिका तीन गुणलाई जनैधारीले व्याख्या गर्दा इलोक्टोन, प्रोटन र न्युट्रनसँग तुलाना गर्न मिल्ने कि नमिल्ने? जनैधारीले त कहाँसम्म गरेका छन् भने तीन डोराको अर्थ- ब्रह्मा, विष्णु र महेश्वर हो।
- पृथ्वी , भुगोल र अन्तरिक्ष।
- ब्रम्हचार्य, गृहस्थी र बान प्रस्थान। यी सबै जनै बचाउनका लागि गरिएको कुटिल चाल हुन भन्नेमा दुई मत छैन।
म जनैको विरुद्धमा बोल्ने आहुति र जनैको पक्षमा बोल्ने नरहरिनाथ दुबैको पाठक हुँ। आहुति समाजमा भएका विभेदबारे बोलिरहँदा, त्यसका धेरै कुरामा सहमत भइरहेको हुन्छु। आहुति कार्ल मार्क्सको दर्शनलाई विज्ञानको नेगेटिभ र पोजेटिभमा पुगाएर व्याख्या गर्नुहुन्छ। जनैधारीले इलोक्ट्रोन, प्रोटन र न्युट्रनमा तीन डोरा भन्नु कत्तिको जायज छ? सहमत कता हुने दुवै विचार हुन।
तर, अब सबैले सोच्नुपर्ने बेला आएको छ। आहुति र नरहरिनाथ दुवैले बोलेका कुरा सबै सत्य हुन त? यस्तो बेला म आफैलाई ‘कन्फिउज जोन’ मा भेटाउँछु। हिजोका कुरा सबै गल्ती थिए त? आशा छ, यी कुराको व्याख्या कसैले गरिदिनु हुनेछ।
‘कन्फिउज जोन’ मा किन छु भने कहिले टेस्लाको शेयर मार्केट (दलाल पुँजीवाद) हेरिरहेको हुन्छु त कहिले ओशोको प्रवचनमा डुबिरहेको हुन्छु।
धिमालको बजाउने बाजा उसको पहिचान हो। मुर्चुङ्गा पहिचान बोकी हिड्छ, थारुको लेहेङ्गा पहिचान बोकी हिँड्छ भने जनैले बोक्दैन होला त पहिचान? अनि जनैलाई पहिचानमा मात्र सिमित राख्न सकिने अवस्था छ कि छैन? यहाँ मैले अहिलेको जनैले विभेद बोकेको छैन भन्न खोजेको हैन।
प्रतिगमनसँगको आन्दोलन जनैतिर फर्केपछि मैले राजु झल्लुको फेसबुक प्रोफाइल हेर्दा तस्बिरमा देखे– एक किशोरी लास बनेर पल्टेकी छिन् र दुई जना अरु नारी र केही पुरुष लासलाई काँध दिइरहेकी छिन्। त्यो काम मूलत: पुरुषले गरिहिँड्थे। त्यहाँ दुई किशोरी छिन्। यो चित्रले त त्यस्तो प्रतिगमन बोकेको लाग्दैन? क्रियापुत्री बनिहिँडेको रसिक लास बनि काँधमा सुतिरहेकी अन्सुका श्रीमान हुन्।
मैले यहाँ ‘इमोसनल ब्ल्याक मेल’ गर्न खोजेको हैन। आहुतिसँग जनयुद्धमा होमिएका एक कमरेडका बाबुछोरालाई मैले पनि चिनेको छु। उनीहरु एउटै गाडीमा हिँड्दैनन्। भवितब्य दुर्घटना भयो भने दुईमध्ये एक बाचोस् भन्ने उनीहरुको विचार हो। जनयुद्ध सफल भयो भन्दै संसदीय व्यवस्थामा एकपल्ट आइसकेका हुन् आहुति। काम पूर्ण भएकै थिएन। यो देशको सामाजिक व्यवस्थाको परिवर्तन गर्न अझै बाँकी छ। छुवाछूत, गरिबी, सामन्तवाद, नातावाद सब ज्युँका त्यूँ छन्।
अनि अर्का कमरेड छन्, एक मुखे रुद्राक्ष र घाट (मन्दिरको घण्टीका) असली ग्राहक। उनको घरको पुजाकोठा कमाईको थान बढी लाग्छ। त्यसैले ठाडामा सुत्नु हातमा गडुवा बोकेर हिँड्नु यहि समाजका अगाडि एक प्रश्न थिएन र?
त्यहीमाथि आराध्यदेव पशुपतिको दर्शन पाई प्रधानमन्त्री केपी शर्मा ओली फिर्ती सवारी हुनुभएको थियो। त्यो स्वतन्त्र समुहलाई प्रधानमन्त्री ओलीले चुनावदेखि डराएका भनिरहेका छन्। आहुतिले प्रतिगमन भनिदिनुभयो। के प्रतिगमनको स्वरुप त्यस्तै हुन्छ? सड्कमा प्रतिगमनविरुद्ध हिँडिरहेका केही थान तन्नेरी एकाएक दुला पसे। यसरी हुन सक्छ के प्रतिगमनविरुद्धको लडाई?
सामाजिक सञ्जालमा जसरी एक जना मात्र देखियो, अनि लाग्यो -'पापीका आँखा पराया।' यो समाजमा भएका हरेक प्रतिगमनको मलामी हिँडेको समुहसँग मेरो झिनोमसिनो परिचय छ। कहिले नाम याद हुन्छ, अनुहार बिर्सिन्छु। कहिले अनुहार चिन्छु, नाम बिर्सिन्छु। त्यसैले उनीहरुका गतिविधि पनि चिने जतिकै झिनोमसिनो रुपमा नियालिरहेको हुन्छु। हामीलाई के बुझाइदै छन्?
मेरा देशका विचारक र लेखक, अजीव लाग्छ। मेरा देशका एक विचारक एउटा ‘कन्फ्युज जोन’ (जहाँ म पनि छु) मा आउँदै गरेको आशालाग्दो समुहलाई ओली बराबरकै प्रतिगमनकारी देख्नुहुन्छ। जस्तो कि ओलीले गायत्रीमन्त्र कानमा फुकेर जनै लगाएर पठाइदिएको हुन र ओलीले त्यो समूह चुनावमा जान डराएका भनि खिल्ली गर्छ। जबकि उनीहरु चुनाव चाहन्छन्। प्रतिगमन हैन।
कुरा फर्सी जत्रो हुन्छ, तिल बनाउन खोज्छन्। भूलवश उनीहरुले गरेको गल्तीको नतिजा र केपी ओलीले गरेको कामको नतिजामा के समान छ?
के त्यो समूहले केपी ओलीको सर्वसत्ताको माग राखिरहेको थियो? के उनीहरुले सिङ्गो जनतामाथि अन्याय गरेका हुन्? वा निश्चित वर्गमाथि त्यो पनि अन्जानवस अन्याय गरेका हुन्? सिङ्गो देशमाथिको अन्याय र वर्गमाथिको अन्याय एउटै हो?
जनै साथ आएका उनीहरु ठिक थिए भन्ने पक्षमा म छैन। तर के आहुतिले दुई साता अगाडि भन्नुभए जसरी इन्डोनेसिया विश्वको सबैभन्दा बढी सौर्य उर्जाको संभावना बोकेको देश हो भनेर, के त्यो ठिक भन्नु भएको थियो? आहुति नेता पनि हुनुहुन्छ। उहाँका अनुयायी पार्टीगत रुपमा पनि छन्। सायद इन्डोनेसिया नै हो पनि ठिक बनाइन सक्छ।
उहाँले त्यही अन्तर्वार्तामा भन्नुभएको थियो, 'अहिलेको सापेक्षमा कम्युनिस्ट उहाँहरु नै हो।' अहिलेको सापेक्षले हिजोको आन्दोलनमाथि प्रश्न उठाउँछ कि उठाउन्न? भोलि पनि शंकाको घेरामा रहन्छ कि नाई?
यसैबीच यो ‘कन्सेप्ट’ कसको हो भनि बुझ्न मन लाग्यो? गडुवा बोकी हिँडेका रसिकलाई फोन गरेँ किनकि उनले म्यासेन्जरमा उत्तर दिएनन्। उनले खासै खुलेर कुरा गर्न चाहेनन्। त्यसपछि त्यही समुहका राझु झल्लु प्रसादलाई फोन गरे। उनी पनि हिनता मिश्रित स्वरमा बोले, 'दाई, हामीले यस्तो होला भनेर सोचेकै थिएनौं।'
अनि यो विचार कसको हो र किन यस्तो भयो भनिसाेध्दा उनले भने– 'दाई लास बोक्ने कन्सेप्ट अंशुको हो र यसरी गर्ने भन्ने चाहिँ प्रभातको हो। प्रभातका बुवा पण्डित हुनुहुँदोरहेछ। उसले देखिरहेको रहेछ। हामीले ठिक त्यही चित्र उतार्न खोज्दा यस्तो भयो।'
भयो के भने, सिधै खड्कप्रसाद ओली हैसियतको प्रतिगमन। उनकै बोलीअनुसार एक चित्रले उनको सिङ्गो चरित्र चित्रण गरिदियो- प्रतिगामी। थारु समुदायको चित्रण गर्न खोजेको भए के रक्सीको विज्ञापन गर्न खोजिएको भन्न मिल्छ? यो थारु समुदायको उदाहरण पनि म थारु समुदायमा बस्ने हुनाले थाहा पाएको हुँ। उनीहरुले गलत भइरहेको छ भन्नलाई आफूले समाजमा देखेको नै गर्न खोजेको थिए। उनीहरुको गल्ति यत्ति हो कि, आफूले बिरोध जनाउन खोज्दा कसैको आत्मसम्मानमा ठेस लाग्छ भनेर सोच्नुपर्ने थियो। उनीहरुले गाउँघरमा देखेको सजिलो तरिका अपनाए।
अर्को रोचक कुरा के रहेछ भने, त्यो भिडमा नवीन प्यासी शंख फुकिरहेका फुलिरहेका थिए रे। मलाई लाग्छ, जहाँसम्म नवीन प्यासी र जनैको टाढासम्म कुनै सम्बन्ध छैन। शंकसँग त झन् हुने नै भएन। यो समुह मात्र बिरोध जनाउने हिसाबले हिँडेका थियो। जनै देखिना साथ हामीले जबर्जस्ति प्रतिगमनको कित्तातिर धकेल्यौं। त्यो समुह खासमा विभिषण थियो। त्यो पनि अन्याय, अत्याचार, दमन, शोषणसँग लडिरहेको। कतै हाम्रा आँखाले लंकारुपी जनै मात्र देख्यौं कि?
जनैको विषयमा बहस भइरहँदा एक जना जनैधारी साथीले भने- 'चिकित्साशास्त्र भन्दोरहेछ दाइने कानमा कुनै वस्तु राख्दा सौच राम्रो हुँदोरहेछ।' कतै जनैको विकास यसरी त भएको हैन? यदी यो हो भने, कानमा कुनै सानो तिन्का राख्दा सौच राम्रो हुन्छ भने जनै दिनभर किन बोकिरहने? सौच गर्दा कुनै धागो राखे भैगोनी? दिनमा सबै समय जोडेर एक घन्टा काममा आउने चिज बोकेर हिँड्नु कतिको जायज थियो?
उनको जवाफ जनैको महिमामै सकिएको थियो। मलाई चाहिँ के लाग्छ भने, जो खास जनैधारी हुन, उनीहरुले यसमा कुनै वस्तु वा तिन्काको ठाउँमा जनै लगेर राखिदिए। यहाँनेर जनैको राजनीति सुरु गरियो। यो चाहिँ प्रतिगमन हो।
हेर्दै जाँदा के देखिन्छ भने– हिजोको युगमा आज जसरी लुगा प्रचलन थिएन। त्यसैबेला कुनै जातिले यो धारण गरेर आफ्नो पहिचान दिलायो। किनभने मेरो गाउँको वरिपरि बस्ने बुढा, बिष्ट र बडुवालको काँधमा अझै जनै देखिन्छ र यहाँ महिलाको घाँटीमा पनि एक प्रकारको जनै भेटिन्छ। एउटा कुरा के चाहिँ सत्य हो भने– जनै बाहुनको काँधमा मात्र थिएन। त्यो जातिका सबैको काँधमा जनै थियो तर अरुको काँधको जनै चुट्टाल्ने काम चाहिँ भएकै हो। त्यो जसले गरेको थियो, त्यो नै बाहुनवाद हो। सामन्तवाद पनि त्यही हो। अरुको पहिचान मेटाउने काम भएकै हो। किनकि आजका दिनसम्म आउँदा अझै पनि जनै उनीहरुले सुरक्षित राखेका छन्। जनैधारीको अहम् बोकेर हिँडिरहेकै छन्। ती समस्त जनैधारीदेखि होशियार रहनु जरुरी छ।
जनै कसरी चुटालियो भन्नका लागि एउटा सानो उदाहरण छ, घटना मेरै गाउँको हो। मेरै परिवार भित्रको हो। एक जना अंकलको महिलासँग अनैतिक सम्बन्ध रहेछ। त्यो कुरा अरुले पनि थाहा पाए र सबैभन्दा पहिले उनकाे जनै चुटालियो। परिवारबाट बहिस्कृत गरियो। जनै हिजोका दिनमा यसरी नै चुटालिएको थियो र जबर्जस्ति दमन सुरु गरियो। यहाँ अनैतिक सम्बन्ध मात्र हैन। बल लगाएर झुक्याएर जनै चुडालिएको हो। म चाहिँ बाँकी रहेका सबै जनै चुडाल्नु भन्ने पक्षमा छु। त्यो मृत जनै बोक्नुको कुनै तात्पर्य देख्दिन र आफ्नो जनै बचाउदै डर कायम गर्न खोजिरहेका छन्।
जनै मेरै समाजम कसरी बसेको छ भन्ने एउटा सानो घटना छ। एक पाला घर गएको थिए। नल आगनमा थियो। म नलमा नुहाउँदै थिए। बजै मलाई हेरेर एक्कासी गाली गर्नथाल्नु भयो। नुहाई रहेको मेरो आङमा सलले ओडाउँदै भन्नुभयो- 'बाहुनको छोरा गलाउनो जनै नाई मान्छे क्या भनन्नान, ईष्टमित्र क्या भन्ननान?' बैनीलाई पसलमा पठाएर जनै ल्याएर मैले भिरेपछि मात्र मैले स्नान कार्य सक्न पाए। अब आफै सोचौ समाज यहिले पनि कहाँ छ र यसकाे दादागिरी कस्तो छ? बजैको यो क्रियाकलापले मलाई सोच्नबाध्य बनायो । मैले आफैले महसुस गरे जनैले विभेद, सामन्तवाद, कुसंस्कार सबै बोकी हिँडेको छ भन्ने। त्यसपछि मैले आगनको नलमा नुहाउन छोडिदिए।
एक अर्को घटना छ। मेरो नातेदार भाई, जो गुरुकुलबाट फर्किएका थिए। उसले मेरो काँधमा जनै नदेखेको कुरा। नवौं आश्चर्य जसरी व्याख्या गरिहिँड्छ। हाम्रोतिर जनै लगाएका बुढापाका छाउ भएकी आफ्नी श्रीमतीलाई छुदैनन्। यी केही उदाहरण मात्रै हुन। सिङ्गाे समाजको रुप यस्तै छ।
हाम्रो माग गुरुकुलभित्र कथित तल्लो जात भनिएकालाई सिधै प्रवेश होस् भन्नेमा छ। संस्कृत किताब च्यात्न पर्छ भन्नेमा म छैन। यस्तो पाइलैपिच्छे विभेद रहेको समाजमा बसिरहँदा हामी पनि खिन्न छौं। घरभित्र रहिरहेका कुसंस्कारसँग हामी पनि लडिरहेकै छौं। घर छोड्न त्यति सजिलो पनि छैन। आहुती यो विषयमा हामीभन्दा धेरै अनुभवी हुनुहुन्छ। के प्रचण्ड गलत प्रमाणित भएकै भोलिपल्ट छोडिदिनु भएको हो त? के सच्चाउनतिर लाग्नु भएको हैन त? हामी पनि एक हिसाबले आहुतीको लाइनमै छौं। युद्ध आफूभित्रै पनि गरिरहेका छौं र प्रतिगमनसँग पनि लडिरहेका छाैं। एक हिसाबले आहुती राम हुन भने त्यो समुह विभिषणको थियो। यसरी कित्ताकाट गरि निषेध गर्नु जायज छ? विभिषणको उदाहरण रामायणबाट लिँदैमा मलाई बाहुनवादको पक्षधरमा नहेरियोस्।
तर, जसरी एक रातमा प्रतिगमनविरुद्धको आन्दोलन जनैतर्फ फर्कियो। एक खेमा जुन जनै, शंख आउँदा चुप बसेर नसुनेझैं गरिहिँड्छ उ आज पनि चुप नै छ। उ असली जनैधारी हो। 'भने के भो त, म जनै लगाइरहन्छु' भनिरहेको छ। अनि अर्को पक्ष जनै लगाएका सबै प्रतिगामी भनिरहेका छन्। समाजको दुई किनारामा मात्र बस्दैन होला बीचमा पनि कोहि छन्। एक हिसाबले यो बहस छेडिनु राम्रो हो। अब शंख, घन्ट पनि बिस्तारै आउनुपर्छ। तर आहुती पनि शंकाको घेरामा पर्नुभएको छ।
गहिरिएर हेर्दा प्रचण्डसँगै संसदीय व्यवस्थामा हाम फालेका आहुती, आज प्रतिगमनको पक्षमा त छैनन् भन्न नसकिने अवस्था छ। सच्चा कम्युनिष्ट भनि स्वघोषणा गर्दै आइरहेका बिजुक्छे कमरेड त ओलीको कदम सोह्रै आना ठिक भन्दै हिँडिरहेका छन् भने कलालाई प्रतिगमनको ट्याग लगाएर कतै आन्दोलनलाई चिरापार्ने नयाँ रणनीति त हैन नि कमरेड आहुतीको? यदि यो हो भने कला क्षेत्रको आन्दोलनमा सानैभए पनि चिरा परेको छ। यतिबेला हामीले प्रतिगमन र जनै दुबैसँग लड्नुपर्ने छ। जसरी जातीय विभेदमाथि आहुती लड्न सुझाउनुहुन्छ -'भित्र पनि लड्दै गर्नु पर्यो, बाहिर पनि। तर त्यसको ठिक उल्टो तरिकामा बोल्नुभयो, जसरी बाहुनवाद बोल्छ- 'तिमीहरु भित्र पनि छुवाछूत छ त' भने झै गरि भन्नुभयो जनै देखियो, प्रतिगामी त यहाँ रहेछ। सब आन्दोलन जनैमा फर्कियो। आहुतीले जनै मात्र के देख्नुभयो, त्यो तस्बिरमा? जुन क्षमायोग्य छैन?