'चोरी औंला' चित्रकार

सेतोपाटी

काठमाडाै‌ं

बृहत् नागरिक आन्दोलनको चिह्न 'चोरी औंला' खबरदारीको प्रतीक हो। 

राज्यसँग असन्तुष्ट आमनागरिकहरू यही चोरी औंला तेर्स्याउँदै जोडदार ढंगले भन्छन्– खबरदार! निरंकुश शासन व्यवस्था अब हामीलाई मञ्जुर छैन। पितृसत्तात्मक राज्यसत्ता अब हामीलाई मञ्जुर छैन। महिला भएकै कारण विभेदको शिकार हुनुपर्ने अवस्था अब हामीलाई मञ्जुर छैन। कुनै हालतमा मञ्जुर छैन।

कलाकार उद्धवराज रिमाल सडकमा नित्य उठिरहेका चोरी औंलाहरू नियालिरहेका छन्। चोरी औंला कोतिर फर्केको छ, त्यो पनि हेरिरहेका छन्। चोरी औंला जता घुम्छ, उनको आँखा त्यतै जान्छ। उनी आफैं चोरी औंला उठाउँदै आन्दोलनमा सरिक हुन गएका त छैनन्, तर आफ्नो बौद्धको स्टुडियोमा बसेर तिनै चोरी औंलाका चित्र बनाउँदै आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै छन्। आन्दोलनको खबरदारी चिह्न अहिले उनको कामको चिह्न बनेको छ।

उद्धवले अहिलेसम्म 'चोरी औंला' थिममा नौवटा ब्ल्याक एन्ड ह्वाइट डिजिटल चित्र बनाइसके, जसमा नागरिक आन्दोलनका अभियन्ताले सत्तालाई खबरदारी गर्दै उठाएका चोरी औंला जीवन्त छन्। ती औंला उठ्दा अनुहारमा झल्किने आक्रोश र भावभंगी पनि उत्तिकै जीवन्त रूपमा उतारेका छन् उनले।

प्रकाशित मिति: : 2021-02-15 07:10:00

प्रतिकृया दिनुहोस्