खड्गप्रसादका 'युवराज' डीसीमा: आउँन नपाई जाने दिनगन्ती सुरू

खड्गप्रसादका पोष्यपुत्र युवराज खतिवडाको वासिङ्टन डीसीमा आगमन भएको छ। उनको आगमन खड्गप्रसाद सरकारको मन्त्रीस्तरको राजदूत खान भएको हो। खड्गप्रसादको गुडबुकमा परेर एकपछि अर्को राजीछाडी पद पाउँदै अमेरिका आइपुगेका उनी कम कूटनीति र बढी लाजनीतिका कारण यहाँ आइपुगेका हुन्। उनलाई दिइएको पछिल्लो कार्यादेश भने बहुचर्चित एमसीसी पास गराउने हो। उनी त्यही प्रयोजनका लागि यहाँ उभ्याइएका एक प्यादा हुन्।

यसो त उनीमाथि अर्थमन्त्री भएको बेला संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताको एक बुँदालाई मनोमानी किसिमले संशोधन गरी अमेरिकी सरकारसँग यसअघि नै सम्झौता गरेर राष्ट्रद्रोह गरिसकेको आरोप लागिसकेको छ। यो आरोप कूटनीतिका जानकार डा. भीमबहादुर रावलले लगाएका हुन्। संसदमा विचारधीन रहेको विषय सार्वभौम संसदको सम्पति हुने भए पनि खतिवडाले त्यसको बेवास्ता गर्दै अनाधिकृत किसिमले अमेरिकाको पक्षमा सहमति गरेको सार्वजनिक भएको थियो। यही सन्दर्भमा डा. रावलले एक अन्तर्वार्तामा भनेका पनि छन्, ‘अरू देशमा भए राज्य विप्लवको मुद्दामा हत्कडी लगाएर जेल पठाउनुपर्ने मान्छे राजदूत भएर पठाइएका छन्।‘

यसो त खतिवडा नेकपा विभाजित हुनुको एउटा कारण पनि हुन्। भदौ २६ गतेको पार्टीको स्थायी समितिले राजदूतलगायतका पदमा नियुक्ति गर्दा पार्टीको सहमति लिने निर्णय गरेको थियो। तर, निर्णयको मसी नसुक्दै त्यही पार्टीका केन्द्रीय सदस्य समेत रहेका खतिवडालाई ओलीले मनोमानी किसिमले अमेरिकाका लागि राजदूत नियुक्ति गरेर पार्टीलाई आजको स्थितिमा ल्याउने विषको बिउ रोपेका थिए। जबकि सांसद नभएको ६ महिना पूरा भएर अर्थमन्त्रीबाट हटेको केही दिनपछि नै ओलीले उनलाई मन्त्रीस्तरको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।

क्याविनेट स्तरको मन्त्री बनाउन ओलीले सिधै नेकपाको केन्द्रीय सदस्य बनाएका खतिवडा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएर पनि अमेरिकाका लागि राजदूत हुने पहिलो भाग्यमानी नेपाली राजदूत हुन्। यसअघि विद्यादेवीका पोष्यपुत्रका रूपमा वासिङ्टन डीसी आएका अर्जुनकुमार कार्की कम्युनिष्ट पृष्ठभूमिका पहिलो राजदूत थिए। नेपालमा आरआरएन नामको एनजीओमार्फत् पश्चिमा एजेण्डाको खेती गर्ने ठूला खेतीवाल भएकाले उनी कम्युनिष्ट हुँदाहुँदै पनि अमेरिकाको गुडबुकमा परेका थिए।

यसो त खतिवडा नामको अगाडि डाक्टर भएका र अनेक पद र मानसम्मानले सुसज्जित व्यक्ति हुन्। अयोग्य पनि हैनन्। तर, उनी मात्र नेपालमा योग्य छैनन्, जसका लागि एकपछि अर्को पद फालिम लागुन्। उनी जतिको योग्यता भएका कयौ नेपाली आफ्नै देशमा योग्यताअनुसारको काम नपाएर स्वाभिमानपूर्वक बाँच्न नसकेर विदेशमा आप्रवासी जीवन बिताइरहेका छन्। नेपालमै पनि पार्टीको, गुटको, नेताको, नाताको र पैसाको मान्छे हुन नसकेका कयौ योग्य मानिस सडकमा छन्। उनीहरूको दुर्भाग्य यति हो, उनीहरूसँग खतिवडा जतिको ‘बाँच्ने कला’ छैन जसबाट ‘केपी बा’ जस्ता विधाता प्रकट होउन्।

खतिवडा जतिबेला वासिङ्टन आइपुगेका छन्, उनका लागि समय र परिस्थिति अनुकुल छैन। पहिलो त उनी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, यसै पनि अमेरिकामा रहेको कम्युनिष्ट इतर नेपाली डायस्पोराका लागि प्रिय हुने कुरै भएन। त्यसैले उनी दुई तिहाइ यसै पनि खुम्चिहाल्छन्। दोस्रो कम्युनिष्टमा पनि उनी ओलीका पोष्यपुत्र हुन्, ओलीलाई मन नपराउनेले उनलाई मन पराउने कुरै भएन। तेस्रो उनी परराष्ट्र मन्त्रालयका करिअर डिप्लोम्याट हैनन्, यसै पनि परराष्ट्र कर्मचारीबाट पुग्दो सहयोग पाउँदैनन्। चौथो, उनी टिम वर्कमा काम गर्ने गुण र विशेषता भएका मानिस नै हैनन्। जीवनभर उनले आफूले भन्दा पनि अरूले गरेका काम आफूले गरेको दाबी गरेर त्यसैको भरमा हनुमानभक्ति गरेर ओलीराम पाएर यहाँसम्म आइपुगेका हुन्। यी सबै आन्तरिक प्रतिकुलता कारण उनले केही गर्न सक्ने अवस्था छैन।

यस अतिरिक्त उनी आएकै दिनदेखि फर्कने दिनको उल्टो गणनाक्रम पनि सुरू भैसकेको छ। नेपालमा खड्गप्रसादको दिनगन्ती सुरू भएको छ र उनी जानेबितिकै बन्ने अर्को सरकारले फिर्ता बोलाउने रादूतको सूचीमा उनी पहिलो स्थानमा हुनेछन्। त्यस्तो अवस्थामा उनी नैतिक रूपमा पनि त्यो पदमा रहन योग्य हुने छैनन्। तर, उनको ट्रयाक रेकर्ड हेर्दा त्यस्तो अपेक्षा गर्नु पनि बेकार हुन्छ। किनकि, नैतिकता भएको भए त देशको राजनीति यति तरल स्थितिमा भएको बेला उनी जुन कित्तामा उभिएका छन्, त्यो कित्तामा उभिएको मानिस आउनु नै  हुने थिएन। यसरी चारैतिर भुँइ खसेको मान्छेले काम गर्न सक्ने अवस्था नै हुदैन।

पश्चिमाहरूको गुडबुकमा रहेका उनी अमेरिकाको पनि गुडबुकमै छन्। त्यही भएर नै कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुँदाहुँदै पनि उनले अमेरिकी एग्रिमो पाएका हुन्। तर, अमेरिकाले एमसीसी पास गर्ने शर्तमा उनलाई स्वीकार गरे पनि अहिलेको अवस्थामा त्यो सम्भव देखिदैन। पहिलो त संसद नै छैन, दोस्रो संसद पुनर्स्थापना भयो भने त अहिलेकै रूपमा एमसीसी पास हुन सम्भव छैन। त्यस्तो अवस्थामा अमेरिकाका लागि पनि उनी काम लाग्ने पात्र हुन सक्दैनन्।

जे होस् उनी 'पुन: मुसीको भव:' भन्ने स्थितिको पूर्वसन्ध्यामा अमेरिका आइपुगेका छन्। उनलाई फेब्रुअरी ६ मा वासिङ्टन डीसीस्थित राजदूत निबासमा स्वागत गरिएको सूचना बाहिरिएको छ। र, दूतावासको वेभसाइटमा उनको हैसियत एम्बेसडर डेजिग्नेट लेखिएको छ। यसको अर्थ उनले अझै पनि ओहोदाको प्रमाणपत्र बुझाउन पाएका छैनन् भन्ने अर्थ लाग्छ। अर्थात्, अहिले उनको हैसियत नियुक्त गरिएको तर मान्य भैनसकेको राजदूत भन्ने नै हो।

अमेरिका चिसिएको बेला आएका खतिवडाको लागि अमेरिका र अमेरिकाको नेपाली डायस्पोराको मन न्यानो छैन। बाँकि त समयले बताउला, हेर्दै जाउँ बाँचे देखिन्छ।

प्रकाशित मिति: : 2021-02-15 03:43:00

प्रतिकृया दिनुहोस्