२०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले महाराजधिराज समक्ष प्रतिनिधि सभा बिघटनको सिफारिस गरे र उसै दिन राजा बिरेन्द्रले रिफारिसमा लालमोहर लगाएर प्रतिनिधि सभा बिघटनको घोषणा गरे। लगत्तै, बिघटन बिरुद्द सर्वोच्च अदालतमा रिट दायर भयो।
त्यसबेला म धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तह दोश्रो बर्षमा अध्ययनरत थिएँ। अंग्रेजी र राजनीतिशास्त्र मेरा मुख्य बिषय थिए। राजनीतिशास्त्र अन्तर्गत एउटा बिषय थियो - विश्वका प्रमुख संविधानहरु। संसद बिघटन हुँदा जीवनाथ चापागाईं सरले हामीलाई बेलायतको संविधान पढाउदै हुनुहुन्थ्यो। पढाई छोडेर कक्षामा मुद्दाका बिषयमा छलफल हुन थाल्यो।
आफु बिरुद्द अविश्वास प्रस्ताब पेस भइसकेपछि त्यसबाट जोगिन अधिकारीले संसद बिघटन गरेका थिए। चापागाईं सरले नेपाल अधिराज्यको संबिधान २०४७ राखेर केहि दिन छलफल गराउनु भयो। हाराहारी २० बर्षको उमेर समुहका हामी बडो उत्साहका साथ छलफलमा भिडयौ। हाम्रो सरदर चेतनास्तर राम्रै थियो , त्यसमा पनि संविधानको विद्यार्थी भएकाले बहस चोटिलो र पोटिलो हुन्थ्यो। गुरुको विद्दता र वाकपटुताले बिषयबस्तु छर्लंग हुन्थ्यो। बिघटन असंबैधानिक छ, सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला गर्छ भन्ने हाम्रो निष्कर्ष निस्कियो।
उता मेरो अर्को जिम्मेवारी पनि थियो- म अनेरास्ववियू क्याम्पस कमिटीको अध्यक्ष थिएँ। जिल्ला पार्टी कार्यालयको जमघटमा नेताहरु सरकारले मुद्दा जित्छ, चुनाब हुन्छ भन्थ। हामीलाई उल्लीबिल्ली पार्थे। भदौ १२ गते फैसला आयो - सर्वोच्चले प्रधानमन्त्रीको रिफारिस र महाराजधिराजको लालमोहर खारेज गरिदियो, प्रतिनिधि सभा पुन:स्थापना भयो।
एमाले सर्वोच्चको फैसा बिरुद्द सडकमा निस्कियो, देशभर प्रदर्शन भए। धनकुटामा पनि खुब नाराबाजी भयो। मन नलागी नलागी पार्टी निर्देश शिरोधार्य गरियो। धनकुटा बजारका बांगाटिंगा सबै बाटामा सर्वोच्च विरुद्द अनेक नारा घनकाइयो। कसैको केहि लागेन। जागेको प्रतिनिधि सभाले अविश्वासको प्रस्ताब अघि बढायो। प्रस्ताब पास भयो, प्रधानमन्त्रीले राजिनामा दिए। कांग्रेस, राप्रपा र सदभावनाले बहुमत जुटाए। प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बने।
२५ बर्शपछि फेरि कमुनिष्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा बिघटन गरे। अहिले पनि अवस्था उस्तै छ - सर्वोच्चमा मुद्दा चल्दैछ, प्रमुख प्रतिपक्षी कांग्रेस नै छ , प्रमुख प्रतिपक्षी दलका नेता देउवा नै छन्। चेतनास्तरको विकास र संचारको सुलभ पहुँचले अहिलेको बहस अझ दमदार बनेको छ। संसद पुन:स्थापना हुन्छ र हुदैन भन्नेबीच कडा बाद प्रतिबाद छ। मान्छे नानाथरीका शंका उपशंका र दबाब प्रभाबका कुरा गर्छन।
म त ढुक्क छु - सर्वोच्चले स्वतन्त्र भएर फैसला दिन्छ , प्रतिनिधि सभा पुनंस्थपना हुन्छ। तत्पश्चातको कार्यदिशा संसदले तय गर्छ। यो मेरो सर्वोच्च अदालतप्रतिको बिश्वास हो र संगसंगै मेरो आफ्नै विश्वासको परीक्षण पनि हो यो।
हिजोका मदन भण्डारी र आजका केपी ओली
२०४६ पछिको दलीय व्यवस्थामा सर्वाधिक लोकप्रिय नेता मदन भण्डारी हुन्। अति प्रभावशाली भाषण कलाका कारण उनी विपक्षीहरूका समेत आकर्षणका केन्द्र थिए। वाकपटुतामा आजसम्म उनलाई कसैले उछिन्न सकेको छैन। उच्चस्तरको धाराप्रवाह भाषण गर्न सक्ने व्यक्तिलाई अहिले पनि मदन भण्डारीको उपमा दिइन्छ। खुल्ला राजनीतिमा साढे तीन बर्ष मात्र देखिएर ४१ बर्षको अल्पायु मै अस्ताएका भण्डारी आजसम्म पनि सवाधिक नेता - कार्यकर्ताका रोलमोडल हुन्।
यस कालखण्डमा सर्वाधिक चर्चित नेता भने केपी ओली हुन्। यति ठुलो संख्यामा सर्बसाधारण, समर्थक र बिरोधि सबै खाले मान्छेको ध्यान आफूतिर खिचिराख्न सक्ने नम्बर वान नेता ऊनी नै हुन्। उनले बोलेका कुरा र गरेका काम ठिक या बेठिक जस्तासुकै हुन् , तिनले तत्काल चुम्बकीय गतिमा साराको ध्यान खिच्छन। राजनीतिमा ओलीले आफुलाई बिल्कुलै नयाँ शैलीमा ब्रान्डिंग गरेका छन्। ठेट नेपाली लवज, प्रष्ट र खरो प्रस्तुति, अदम्य आँट, प्रवल सामर्थ्य, कुटिल चातुर्य लगायतका फरक धारका गुणहरुले ओलीलाई बिशिष्ठ चर्चा दिलाएका छन्। २०१५ सालपछि जनताको यति ठुलो समर्थन र संसद्को यति ठुलो बिश्वास प्राप्त गर्ने भाग्यमानी प्रधानमन्त्री उनी नै हुन्।
यति उच्चस्तरको विश्वास र अवसर पाउँदापाउँदै पनि उग्र महत्वकांक्षा, सहकर्मीहरुसँगको समन्वय अभाब, नियत बाङ्गिएका सल्लाहकारहरुको साँगुरो धेरा, विधिविधान एवं पद्दतिविपरितका कर्मबाट शक्ति आर्जन गर्ने लालसा र म नै राज्य हुँ भन्ने स्वप्निल भ्रमका कारण ओलीको शिखर व्यक्तित्व द्रुत गतिमा स्खलित भइरहेको छ। हुँदाहुँदा, उनले आफुलाई प्रधानमन्त्री जन्माउने मातृथलो प्रतिनिधि सभाको बध गर्ने सम्मको दुस्साहस गर।
निश्चित छ - अबको केहि दिनमा सर्वाच्च अदालतबाट प्रतिनिधि सभा पुन:स्थापनाको फैसला आउने छ, र त्यहि प्रतिनिधि सभाले ओलीको राजनीतिक उत्तरार्धको नँया इतिहास लेख्ने छ।