अन्नबाली जोगाउन खेतबारीमा झिलिमिली बत्ती

विजय साह

जनकपुर

जङ्गली जनावरबाट अन्न तथा तरकारी बाली जोगाउन धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन्। यहाँका किसानले जङ्गली जनावरलाई धपाउन खेतबारीमै झिलिमिली बत्ति बाल्ने गरेको छ।

झिलिमिलि बत्ती बलेको देखेर जङ्गली जनावर नआउने र खेतबारीमा लगाएको अन्न तथा तरकारी बाली जोगिने हुनाले यहाँका किसानले त्यसो गरेका हुन्।

दिनमा किसान आफैँ बसेर रुग्ने गरेको भएपनि रातिको समयमा खेतबारीमै बस्न नसकिने हुँदा जङ्गली जनावरलाई धपाउन झिलिमिली बत्ति तथा उज्यालो बल्ल बाल्ने गरेको छ।

झिलिमिली बत्ति बलेको देखेर जङ्गली जनावर खेतबारीमा नआउने र बाली सुरक्षित रहने गरेको ढल्केवरका किसान नेमलाल महतोले बताए। 

नेमलालले आफ्नो टोल देखाउँदै भने, ‘यो टोलमा ३ सयबढी किसान छन्। सबले यही पद्धती अपनाएका छन्, यहाँ साँझमा घर बत्तीसँगै खेतबारीको बत्ती पनि बालिन्छ।’

दीपावलीमा घर झिलिमिली पार्न ल्याएको बत्ती नै हो। दीपावली सकिएपछि त्यही बत्ती खेतमा लगाएको हुँ,‘ उनले भने। 

खेतबारीमा पिलिक–पिलिक बत्ती बलेको देखेर जङ्गली जनावर डराएर आउँदैन, ‘अर्का किसान श्याम महतोले सुनाए।’ खेतबारीमा अनायासै बिजुली बत्ती बाल्नाले उत्पादनमा लागत बढेपनि बाली जोगाउन गरिएको थुप्रै प्रयास खेर गएको उनले सुनाए।

‘बाली जोगाउन बलिया घेराबेरा लगायो निल गाई र बँदेलले भत्काइदिन्छ। अन्तिम विकल्पको रुपमा झिलिमिली बत्ती बाल्न थालेको होड’, महतो भने।

धनुषाको उत्तरी क्षेत्र मिथिला, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको किसानले लगाएको अन्नबाली तथा तरकारीबाली जङ्गली जनावार निल गाई, बँदेल, बाँदर र दुम्सीले नोक्सानी गर्ने गरेको छ।

नजिकै रहेको जङ्गलबाट हुलका हुल आउने निल गाई र बँदेलले बर्षौंदेखि यहाँको किसानले लगाएको अन्न तथा तरकारीबाली नष्ट गरिदिन्छ। 

जङ्गली जनावर नियन्त्रण गर्न वन कार्यालय र प्रहरी प्रशासनलाई घुहार लगाएपनि नियन्त्रणको प्रयास नभएको ढल्केवरका सोम बहादुर लामाले बताए। जङ्गली जनावर नियन्त्रण नहुँदा यहाँका किसान निकै चिन्तित बनेको छ।

‘खेतबारीमा लगाएको कुनै बाली पनि बाँकी राख्दैन सबै सखाप पारिदिन्छ। एक्लो–दुक्लो लखेट्न गयो भने उल्टै उसैले हानेर घाइते बनाउँछ’, उनीहरुको दुखेसो छ।

प्रकाशित मिति: : 2021-02-14 15:47:00

प्रतिकृया दिनुहोस्