महाअभियोगबाट फेरि बचे ट्रम्प : मिल्यो २०२४ लाई 'लाइफ-लाइन'

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोस्रोपटक पनि महाअभियोगबाट बचे। कंग्रेसको माथिल्लो सदन सिनेटमा अमेरिकी समयअनुसार शनिबार अपरान्ह भएको मतदानमा महाअभियोग प्रस्ताव पारित गर्न आवश्यक ६७ मत जुट्न सकेन। प्रस्तावको पक्षमा ५७ मत र विपक्षमा ४३ मत खस्यो।

प्रस्तावको पक्षमा ५० डेमोक्रेटस र ७ रिपब्लिकन सिनेटरले मतदान गरे भने विपक्षमा मतदान गर्ने सबै ४३ सिनेटर रिपब्लिकन पार्टीका थिए। १०० सदस्यीय सिनेटमा प्रस्ताव पारित गर्न दुई-तिहाई अर्थात् ६७ मत आवश्यक हुन्छ।

यसअघिको महाअभियोगमा १ रिपब्लिकनसहित ४६ डेमोक्रेट्स गरी ४७ सिनेटरले प्रस्तावको पक्षमा मतदान गरेका थिए। तर,  यसपटक ७ रिपब्लिकनले मतदान गरेपछि महाअभियोग प्रस्तावको पक्षमा सबैभन्दा बढी मत परेको इतिहास बन्यो। यो संख्यालाई प्रतिशतमा लैजादा ५७ प्रतिशत अमेरिकी जनमत ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने पक्षमा देखियो।

‘अमेरिकामा इजम हैन, इस्यु हेरिन्छ, व्यक्ति हैन, पार्टी हेरिन्छ, सबैभन्दा ठूलो त पद्धति हेरिन्छ’ भन्ने गरिन्थ्यो। तर, ट्रम्पले पाएको पछिल्लो उन्मुक्तिले  त्यो सबै भ्रम हो भन्ने ऐना बाँकि संसारले छर्लङ्गै देख्यो।

महाअभियोग प्रस्ताव पारित नभएकोमा ट्रम्प र उनका अति दक्षिणपन्थी समर्थक खुशी भए। तर, मोडरेट रिपब्लिकनका लागि भने यो परिणाम खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार जस्तै भयो। उनीहरूको चिन्ता ट्रम्पका लागि सन् २०२४ को चुनावमा उठ्ने ‘लाइफ लाइन’ मिल्यो भन्ने हो।

डेमोक्रेट्स यस्तै परिणाम आउनेमा लगभग ढुक्क थिए। उनीहरूमा रिपब्लिकन पार्टीकै टाउको दुखाइ बनेका ट्रम्पलाई सदाका लागि किनारा लगाउने अवसरको सदुपयोग गर्लान् कि भन्ने झिनो आशा भने बाँकि थियो। तर, उनीहरूले त्यसो गरेनन्। अझै पनि ७२ प्रतिशत रिपब्लिकनको पहिलो रोजाइ बनेका ट्रम्प फ्याक्टरसँग उनीहरू पानी पानी भए।

लाज बचाउन सिनेटका रिपब्लिकन नेता म्याक्नेलले ट्रम्प जनवरी ६ को काण्डका लागि दोषी भए पनि एक सामान्य नागरिक भैसकेकाले राष्ट्रपतिलाई लगाउने महाअभियोग उनलाई लगाउनु असंवैधानिक हुने तर्क अगाडि सारे। जबकि जनवरी ६ लगत्तै ट्रम्प राष्ट्रपति भएकै बेला उनलाई महाअभियोग लगाउने प्रक्रिया उनले नै रोके; जतिबेला उनी सिनेटमा बहुमतका नेता थिए।   

उता, डेमोक्रेट्सले भने जनवरी ६ मा ट्रम्पले गरेजस्तै सम्भावित कदमबाट अमेरिकालाई बचाउन जाँदाजाँदैको राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्ने तर्क गरे। यो तर्कमा दम भए पनि बहुमत रिपब्लिकन सिनेटरको विवेक ट्रम्पको अगाडि बन्धकी बन्न पुग्यो।

यो परिणामले तत्कालका लागि ट्रम्पलाई राहत मिलेको छ। उनले अमेरिकी पूर्वराष्ट्रपतिका हैसियतमा पाउँने सबै राजसी सुख सुविधा भोग्न पाउँने भएका छन् भने सन् २०२४ को राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वार हुन सक्ने 'लाइफलाइन' पनि जिवीत भएको छ।  ट्रम्पको सबैभन्दा ठूलो लोभ नै यही हो। यही सम्भावना देखाएर अब उनी रिपब्लिकन पार्टीमा एक शक्तिकेन्द्र भैरहने छन्। त्यही नाममा चन्दा उठाउन पाउँनेछन्। त्यसैको आधारमा रिपब्लिकन पार्टीलाई त तनाव दिन्छन् नै, अमेरिकाको पनि  टाउको दुखाइ बनिरहने छन्।

ट्रम्प अमेरिकाले दाबी गर्ने गरेको सभ्यता र संस्कृतिका हिमायति हैनन्। उनलाई प्रजातन्त्र, मानव अधिकारलगायतका अमेरिकी मूल्य, मान्यता र पद्धति मन पर्दैनन्। उनी एक जहानिया स्वभावका सन्की तानाशाह हुन्। उनले वितेको चार वर्षमा 'अमेरिका फस्ट'का नाममा अमेरिकालाई रङ्ग, वर्ण, धर्म, ओरिजिन आदिका नाममा ठाडो चिरा मात्र पारेनन्, बाँकि विश्वमा अमेरिकाको शान पनि धुलिसात बनाए। हिजो अमेरिकी पासपोर्टको संसारभर मान थियो, आज त्यसको कुन हविगत भएको छ, त्यति मात्रै हेरे पनि काफी हुन्छ, ट्रम्पले अमेरिकालाई चार वर्षमा केबाट के बनाए भन्ने तथ्यको नजिक पुग्न।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसी अझ त्यसमा पनि क्यापिटल भनिने संसद भवनमा जनवरी ६ मा जे भयो, अमेरिकाका लागि कहिल्यै नमेटिने घाउ हो। यो घाउ ९/११ भन्दा कम गहिरो छैन, पीडाका हिसावले अमेरिकाकै राष्ट्रपतिको उक्साहटमा भएको यसको पीडा अमेरिकाका लागि सहिनसक्नु छ।

तर, यस्तो पीडा सहेर पनि जीओपी भनिने अमेरिकाको 'गौरवशाली' रिपब्लिकन पार्टीले त्यस पार्टीको टिकटमा राष्ट्रपति चुनिकएका ट्रम्पलाई उन्मुक्ति दियो। साँच्चै भन्ने हो भने पछिल्लो महाअभियोग रिपब्लिकन सिनेटरका लागि पार्टी छान्ने कि ट्रम्प छान्ने भन्ने जीवन मरणको चुनाव नै थियो। तर, ४३ सिनेटरले ट्रम्प छान्दा ७ सिनेटरले मात्र पार्टी छाने।

आजको यो परिणामले अमेरिकी राजनीति र यहाँको जनमतका बारेमा रहेको एउटा भ्रमको पनि नराम्ररी पर्दाफास भयो। त्यो के भने ‘अमेरिकामा इजम हैन, इस्यु हेरिन्छ, व्यक्ति हैन, पार्टी हेरिन्छ, सबैभन्दा ठूलो त पद्धति हेरिन्छ’ भन्ने गरिन्थ्यो। तर, अमेरिकी सिनेटमा आज जुन किसिमको मतदान भयो त्यसले आमरूपमा त्यो सबै भ्रम हो भन्ने ऐना बाँकि संसारलाई देखाइदियो।

हो, ७ रिपब्लिकन सिनेटरको विवेकको मतले भने अमेरिका इजम हैन इस्यु हेर्छ भन्ने मान्यताबाट पुरै विचलित भैसकेको छैन भन्ने सन्देश दिएको छ। तर, यो पनि सत्य हो कि यो सन्देश रोक्न अमेरिकामा ट्रम्पवादको बन्सो रोपिइसकेको छ। सन् २०२४ सम्म त्यो कति झ्यांगिएर अमेरिकी मूल्य र मान्यतालाई बर्बाद पार्छ, त्यो हेर्न बाँकि नै छ।

त्यो बन्सोलाई कति झाँगिन दिने भन्नेमा रिपब्लिकन पार्टीका क्रियाकलाप त जिम्मेबार हुन्छन् नै, राष्ट्रपति बाइडनको डेलिभरी पनि कम जिम्मेवार हुदैनन्। यदि उनले चुनावी वाचा गरेजस्ते डेलिभरी दिए भने त्यो बन्सोमा चुक अमिलो दलिएर बढ्नै पाउँने छैन। 

भनिन्छ,  सबैभन्दा बलवान भनेकै समय हो। के के हुने हो?, त्यो त समयले नै देखाउने हो। हेर्दै जाउँ, बाँचे समयको त्यो ऐेना अवश्य देखिन्छ।

प्रकाशित मिति: : 2021-02-14 09:15:00

प्रतिकृया दिनुहोस्