मेसीले गरे जाभीको कीर्तिमानको बराबरी, बार्सिलोना ५–१ ले विजयी 

लिओनल मेसी र फ्रान्सिस्को ट्रिनकाओले दुई गोल गरेपछि आल्भेसमाथि ५–१ गोलको अग्रता राख्दै बार्सिलोनाले ला लिगामा लगातार सातौं जितलाई निरन्तरता दिएको छ।

ट्रिनकाओले २९ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको ला लिगामा पहिलो खेल थियो। मेसीले पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा गोल गरे। बार्सिलोनाले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो।

आल्भेसका लागि लुइस रियोजाले ५७ मिनेटमा गोल फर्काउदै खेललाई नजिक ल्याउने प्रयास गरेका थिए। तर, ट्रिनकाओले ७४ र मेसीले ७५ मिनेटमा पुनः गोल थपेपछि आल्भेसको पराजय निश्चित भएको थियो। जुनियर फिर्पोले ८० मिनेटमा पाँचौ गोल गरेका थिए। 

३३ वर्षीय मेसीको ला लिगामा ५ सय ५ औं खेल थियो । उनले जाभीको बार्सिलोनाबाट खेल्ने कीर्तिमानलाई बराबरी गरेका छन्। लामो समय बेञ्चमा थन्किएका ट्रिनकाओलाई शनिबार राती मौका दिइएको थियो। दुवैको एक–एक गोल अफसाइड घोषित भएको थियो। बार्सिलोना अंक तालिकामा अहिले पनि एट्लेटिको म्याड्रिडभन्दा आठ अंकले पछाडि छ।

एट्लेटिको २१ खेलमा ५४ अंकका साथ शीर्षस्थानमा छ। बार्सिलोनाको २२ खेलबाट ४६ अंक पुगेको छ। उ रियल म्याड्रिडभन्दा गोलको आधारमा दोस्रो स्थानमा छ। रियलको पनि ४६ अंक छ।

प्रकाशित मिति: : 2021-02-14 07:30:00

प्रतिकृया दिनुहोस्