जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

अनलाइनखबर

काठमाडाैं

‘ओइ मुला, आज फिल्म देखाउँछु भनेको हैन ?’ बिदुरले गुच्चा खेलेको ठाउँमै गुप्त रहस्य खोलिदियो । मलाई सरम लाग्यो । वाक्य फुटेन । अघिल्लो साँझ खेल्दै गर्दा उसँग मैले ‘फिल्म देखाउने’ कुरा गरेको थिएँ ।

चैत्र–वैशाखको याम । लेकको घाम उति रापिलो हुँदैन । बरु बेलाबखत बेपत्तासँग बतास चल्छ । भर्खर फक्रिदै गरेको आरुबखडाको फूलहरुसँगै धुलो उड्छ । धुलोले हामी केटाकेटी धुस्रोफुस्रो हुन्छौं । हातको छाला खस्रो भएको छ । सिँगान पुछ्दा–पुछ्दा नाक मुनिको भाग रातो भएको छ । यस्तो हुलियामा सुकिलो माटो खोज्दै हिँड्छौं, गोजीभरि गुच्चा बोकेर ।

ओभानो ठाउँमा गुच्चा खेल्न गाउँभरका केटाकेटी नियमितजसो हाजिर हुन्छन् । कोही खेलाडी, कोही रमिते । सानोभाइ उर्फ त्रिविक्रम गुच्चाका तगडा खेलाडी । उनको खल्ती भरिन्छ । बाँकी गुच्चा मुखभित्र बोक्छन् । गुच्चामा धुलो र घोडाको मलमूत्र दलिएको छ भन्ने कुराको के मतलब ? बस्, चोर औंलाले फित्कौली बनाएर हानेको गुच्चाले बेतोडसँग निसाना बनाएको गुच्चालाई टक्कर दिनु पर्यो ।

प्रकाशित मिति: : 2021-02-13 11:37:00

प्रतिकृया दिनुहोस्