भागरथी हत्या प्रकरणः ९ दिनसम्म पनि घटना रहस्यमय, कहाँ पुग्यो अनुसन्धान?

नेपाल खबर

काठमाडौं

बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको बिहीबार नौ दिन भएको छ।

माघ २१ गते बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको थियो। घटनाको भएको नौ दिन पूरा भइसक्दा पनि प्रहरीले अपराधी पहिचान गर्न सकेको छैन।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सीआईबीका डीएसपीसहित चार सदस्यीय टोली बिहीबारै बैतडी खटाएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारी र एसएसपी पाण्डेयको टोली अहिले पनि अनुसन्धानमा सक्रिय छ। 

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ पनि अनुसन्धानमा सक्रिय छन्। डीआईजी सुवेदी पाँच दिनदेखि स्थानीय खोंचलेक प्रहरी चौकीमा बसेर अनुसन्धान टिमलाई निर्देशन तथा सहयोग गरिरहेको स्रोत बताउँछ।

अनुसन्धानमा उच्चस्तरीय टोली नै लागेको भए पनि अहिलेसम्म घटना रहस्यमय नै छ। घटना घटेको दिनदेखि अनुसन्धानमा खटिएको प्रहरी टोली आठ दिन बितिसक्दा पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन। अपराधी पहिचान गर्नु त परको कुरा घटना दिउँसो भयो वा राति, सामूहिक बलात्कार हो वा होइन् भन्ने जवाफ दिन सक्ने अवस्थामा समेत प्रहरी छैन।

प्रकाशित मिति: : 2021-02-11 19:41:00

प्रतिकृया दिनुहोस्