काठमाडौं । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाली कांग्रेस प्रजातान्त्रिक नेतृत्वको शेरबहादुर देउवा सरकारलाई अपदस्थ गरे । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार गठन गरे । चन्द नेतृत्वको सरकार एक वर्ष पनि टिकेन । त्यसपछि सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भए ।
देउवा नेतृत्वको सरकार बर्खास्त गरेपछि मुलुकका राजनीतिक दलहरू आन्दोलित भएका थिए । २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्ड र त्यसपछि शासनसत्तामा उदाएका राजा ज्ञानेन्द्र क्रमशः निरंकुश बन्दै गए पनि त्यसलाई तुरुन्तै विस्थापन गर्ने सामर्थ्य राजनीतिक दलसँग देखिएको थिएन ।
होलेरी आक्रमणपछि तत्कालीन युद्धरत् नेकपा माओवादी केन्द्रको मनोबल उकासिएको थियो । त्यसको असर देश र राजनीतिक अवस्था दुवैमा देखिएको थियो । र, लाभ ज्ञानेन्द्रले उठाइरहेका थिए ।
दलहरुको आन्दोलनले राजाशाही कमजोर नहुने छाँट देखेपछि भर्खरै एकीकृत भएको तत्कालीन एमालेनिकट अनेरास्ववियूले जबर्जस्त सडकको नेतृत्व गर्द ैथियो । तत्कालीन अनेरास्ववियूभित्र राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवारजस्ता उदीयमान, जल्दाबल्दा नेताहरू थिए ।
तर, आन्दोलनको मैदानमा रामकुमारी झाँक्री देखिइन् । २०६० अघिसम्म रामकुमारी झाँक्रीको परिचय अखिलको नेतृमा मात्रै सीमित थियो । ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्धको आन्दोलनले उनको परिचयमा इँटा थपिदियो । गणतन्त्रको शंखघोष गर्ने आन्दोलनकारीको रूपमा उनी अगाडि आइन् ।
२०६० पुस २३ गते तत्कालीन अनेरास्ववियूले रत्नपार्कमा विरोध प्रदर्शनको आयोजना गरेको थियो । विरोध प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण नै थियो । तर, प्रहरी एकाएक मुठभेडको मुडमा देखियो । जुलुसको अग्रभागमा थिइन्, रामकुमारी झाँक्री । प्रहरीको लाठी प्रहारबाट उनको टाउको फुट्यो । रगतपच्छे भइन् ।
अहिलेकोजस्तो सामाजिक सञ्जाल त्यतिबेला थिएन । तथापि, आन्दोलनकारीको मन–मस्तिष्कमा रामकुमारी झाँक्री गाढा विम्ब बनिन् । त्यसको अढाई वर्षपछि २०६२–०६३ को आन्दोलनको शंखघोष भयो । पार्टीलाई उछिनेर अनेरास्ववियूले गणतन्त्रको नारा लगायो । परिणामतः मुलुकमा गणतन्त्रको स्थापना पनि भयो ।