सागर ढकाल
कम्बोडियाको राजधानी फोनम फेबाट काठमाडौं करिब चार हजार किलोमिटरको दूरीमा छ । अमेरिकाले सुरु गरेको युद्धबाट कम्बोडिया २० वर्ष आक्रान्त भयो, एक हिसाबले ध्वस्त नै भयो । नेपाल पनि १० वर्ष सशस्त्र द्वन्द्वमा फसेकै हो । सन् १९८९ मा कम्बोडियाको युद्ध अन्त्य हुँदै गर्दा नेपालमा सशस्त्र द्वन्द्वको जग बस्दै थियो । युद्धको अन्त्यपछि कम्बोडियाले लोभलाग्दो फड्को मा¥यो । कपडाको निर्यात र पर्यटनबाट सञ्चालित कम्बोडियाको अर्थ व्यवस्थाले गएको २० वर्षमा औसत वृद्धिदर ८.५ प्रतिशत कायम राखेको छ । कम्बोडिया विश्वका दु्रत गतिमा वृद्धिरत अर्थतन्त्रमध्ये एक हो । डेढ करोड हाराहारी जनसंख्या रहेको यो देशमा कोरोनाबाट अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन, अर्थ व्यवस्था पनि सम्हालिएको छ ।
नेपालमा जनयुद्ध अन्त्यसँगसँगै शान्ति सम्झौता भएको पनि लगभग १५ वर्ष भइसक्यो । तर पनि हाम्रो अर्थतन्त्रले गति लिनै सकेको छैन । जारी कोरोनाको महामारीबाट मर्नेहरूको संख्याले दुई हजारको आँकडा पार गरेको छ, अर्थ व्यवस्था थिलथिलो छ । देश बनाउने बौद्धिक जनसंख्या युरोप–अमेरिका र पसिना चुहाउन सक्ने करिब ६० लाखभन्दा बढी युवा मुलुकबाहिर खाडीलगायतका देशमा श्रम बेच्न बाध्य छन् । कामको खोजीमा बिदेसिनेमा प्रतिशतका हिसाबले यो विश्वकै ठूलो संख्या हो । नेपाली समाज एकदमै नकारात्मक, निराशाजनक र अत्यासलाग्दो समाजमा बदलिनुको मुख्य कारण नै यही हो ।
हाम्रो पुस्ताका बिपी, मदन, हर्क गुरुङ सबै विदेश छन् । जनताको आवाज बोलिदिने लगभग कोही छैन भन्दा हुने अवस्था छ । यो देशको राजनीतिमा बोल्न वा आफ्ना नेतालाई प्रश्न सोध्नसमेत नसक्ने, परिश्रम गर्न पनि नसक्ने कायरहरू हावी छन् । जो आपसमा भिड्दै जनतालाई रनभुल्लमा राख्न अभिशप्त छन् । क्षमतावान् एवं परिश्रमी श्रमजीवीजति सबैलाई विदेश पठाएर, मस्तिष्कविहीन अनुचरहरूको बलमा जनताबारे कुनै चिन्ता र चिन्तन नभएका असुरहरूको शासन निर्बाध यहाँ चलिरहेको छ ।
आखिर किन एउटा उस्तै मुलुक विकासतिर अघि बढ्छ, तर उस्तै अर्काे मुलुक आफ्ना सबै तेजिला जनता विदेश धकेलेर अन्तहीन भुमरीमा फसिबस्छ ? यो प्रश्नको स्पष्ट उत्तर कम्बोडियाको खानेपानीको क्षेत्रमा क्रान्तिका संवाहक ‘एक सोन च्यान’ र नेपालको जलविद्युत् क्षेत्रमा क्रान्ति गरेका कुलमानबीचको तुलनाले दिन्छ ।
कम्बोडियाको पानी प्राधिकरण र नेपालको विद्युत् प्राधिकरण : कम्बोडियाको फोनम फे पानी आपूर्ति प्राधिकरण (पिपिडब्ल्युएसए)को कहानीका सुरुवाती चरणहरू धेरै हदसम्म हाम्रो विद्युत् प्राधिकरण (एनइए)सँग मेल खान्छ । विडम्बनापूर्ण भिन्नता के छ भने कुलमानलाई जम्माजम्मी चार वर्ष मात्रै विद्युत् प्राधिकरण चलाउन दिइयो । तर, कम्बोडियाका एक सोन पानी प्राधिकरण १० वर्ष चलाएर मन्त्रालयको सचिव हुँदै जलमन्त्रीसम्म भए । एक सोनले पानी प्राधिकरणलाई बेलायतको भन्दा पनि धेरै अघि लिएर गए ।