नेपाल विद्युत् प्राधिकरणले ताप्लेजुङको गाउँगाउँलाई विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
ताप्लेजुङको नौमध्ये आठ स्थानीय तहका गाउँगाउँलाई विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
मैवाखोला गाउँपालिका– १ देखि ६ वडामा विद्युत् लाइन विस्तार र जडानको काम भइरहेको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका सूचना अधिकारी देवन मण्डलले बताए।
सामुदायिक ग्रामीण विद्युत् सहकारीमार्फत मेरिङदेन गाउँपालिकाको सबै वडामा राष्ट्रिय प्रसारण लाइन उपभोक्तामार्फत वितरण काम भइरहेको उनको भनाइ छ।
आगामी असार मसान्तसम्ममा ताप्लेजुङको आठ गाउँपालिका केन्द्रमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जाड्ने योजनासहित काम भइरहेको सूचना अधिकारी मण्डलले बताए।
फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक र आठराई त्रिवेणीका सबै क्षेत्र विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसकेको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख हेमन्त चौधरीले बताए।
सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु, मेरिङ्देनको केन्द्र सान्थाक्रा, मिक्वाखोलाको वडा नम्बर १ र २ को खोक्लिङ र मैवाखोलाको केन्द्र साँघुसमेत विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनको भनाइ छ।
उनका अनुसार सिरिजङ्घाको केन्द्र तेल्लोकमा लाइन विस्तार र जडान कार्य भइरहेको र केही क्षेत्रमा जोडान भइसकेर उपभोक्ताले प्रयोग गर्न शुरु गरेको छ।
गाउँपालिका केन्द्रको सीमित घर परिवारले मात्र राष्ट्रिय प्रसारण लाइन जडान गरेर उपभोग गर्दै आएको सिरिजङ्घा गाउँपालिका–४ वडाध्यक्ष रुपदास भट्टराईले बताए। प्रत्येक घर परिवारको घरसम्म राष्ट्रिय प्रसारण लाइन जडान हुनुपर्ने उनले बताए।
गाउँपालिका क्षेत्रसम्म राष्ट्रिय प्रसारण लाइन जडान भए पनि बजेट अभावका कारणले पालिकाभित्रका प्रत्येक घरधुरीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गर्न समस्या भएको कार्यालय प्रमुख चौधरीले बताए।
फक्ताङलुङ गाउँपालिकामा विद्युत् व्यवस्था नभएका स्थानीय तहले अहिलेसम्म नवीकरणीय ऊर्जा प्रयोग गरेर कार्यालय सञ्चालन गर्दै आएको छ।
फुङ्लिङ नगरपालिकादेखि आठ किलोमिटर राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नका लागि ठेक्का सम्झौता गरिसकेको उनको भनाइ छ। रासस