गाउँपालिकाले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना

कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ। 

गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गर्ने भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए।

‘नेपालको संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले गाउँपालिकाको स्वास्थ्य बीमा योजना लागू गरेको हो’ उनले भने। 

कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना ल्याएको अध्यक्ष शाहीको भनाइ छ।

बीमा योजनामा गाउँपालिका वडा नं १ देखि ९ सम्मका कर्मचारी र जनप्रतिनिधिबाहेक मध्यम गरीब र सामान्य गरीब परिवारका पाँचजना सदस्यको बीमा रकम रु तीन हजार ५०० का दरले गाउँपालिकाले नै स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरिदिने गाउँपालिका स्वास्थ्य शाखाप्रमुख मीनबहादुर बिष्टले बताए।

‘एकै घरका पाँचभन्दा बढी सदस्यको हकमा परिवार स्वयंले बीमा रकम तिर्नुपर्ने व्यवस्था गर्नुपर्नेछ। गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर यो योजना ल्याइएको हो’ उनले भने।

प्रकाशित मिति: : 2021-02-10 14:55:00

प्रतिकृया दिनुहोस्