चियाको व्यवसायिक खेती भन्ने वित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन्।
तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ साविक सिंहदेवी केराबारी–२ मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गरेको चिया खेती अहिले पूर्ण व्यवसायिक भइसकेको छ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गरेकोे चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ।
गाउँमा व्यवसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपिँँया खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन।
वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उनले चिया खेतीमा लगाए। लेटाङ बजारमा उनको सुविधा सम्पन्न घर छ। त्यँही बसेर व्यवसाय गर्न सकिने प्रसस्त सम्भावना थियो। तर, नारायणले गहत सम्म नफल्ने डाँडालाई चियाले हरियो बनाईदिए।
नारायणलाई रात दिन नभनी सहयोग गर्ने उनकी पत्नी विना खजुम भन्छिन्– 'सुरुका दिनमा चिया रोप्दा धेरैले हासेर उडाए।'
डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्ठि हुन नसकेको बताउँदै विनाले भनिन्–'द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो।'
उनको आफ्नो मातृभूमि टि स्टेट कम्पनीले वार्षिक ५ हजार केजी ग्रीनटि उत्पादन गरिरहेको छ। आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रीनटि हरियो चियाको माग उच्च भएपनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालिका विना खजुमले बताइन। चिया बगानमा हाल गाउँकै ५० जनालाई रोजगार पाएका छन्।
चिया खेतीमा लगातार लागेका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो। पुरस्कृत भएपछि चिया खेती प्रति उनको झनै लगानी र झुकाव बढेको छ। विना भन्छिन्–धेरै जिम्मेवारी थपिएको छ। उहाँ त आजभोलि सामाजिक काम र चिया खेती विस्तार मै ब्यस्त हुन थाल्नु भएको छ।’
०७१ मा पुरस्कृत भएपछि उनीहरूले थप ५० रोपनीमा चिया बिस्तार गरेका हुन। नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीय वुद्धमान राई, डकलसिंह राईलगायतका थुप्रै किसानले आफ्नो पाखो बारिमा पैसा फलाउन थालेका छन्। डकलसिंहले भने–'भरखरै सुरु गरेको छु। राम्रो भइरहेको छ।'
उत्तरी मोरङका साविक ८ वटा पहाडी गाविस मध्ये सबैभन्दा दुर्गम गाविस थियो सिंहदेवी। २०६८ सालको जनगणना अनुसार जम्मा २ हजार ४ सय ७८ जनसंख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी रहेका छन्। नारायण राई लगायतका किसानले सिंहदेबीका पाखोवारीमा पैसा फलाउन थालेपछि अहिले तराईबाट सिंहदेबी तिर घडेरी खोज्न जाने क्रम सुरु भएको छ।
स्थानीय मनोज अधिकारीले भने –सिंहदेवीमा जेफाले पर्यटन विकास संस्थाको गठनसँगै होमस्टे सुरु भयो। होमस्टे,नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिसहरू यहाँ जग्गा किन्न थालेका छन्।’
उनले सँगै जोडिएको लेटाङ नगरपालिकाको वार्ड नं १ र ७ का गाउँमा अझै विद्युतीकरण हुन नसकिरहेको बेला सिंहदेवीमा लोडसेडिङ हुँदैन। सडकसँगै विद्युत र पानीको सहज आपुर्ति भएपछि सिंहदेवी र आसपासका गाउँबाट बसाई सर्ने क्रम पुरै रोकिएको स्थानी भीमबहादुर ठकुरीले बताए।