व्यवसायले लय पक्रिन के थालेको थियो, सविताका अगाडि दुई विकल्प तेर्सिए– व्यवसाय छोड्ने कि घर!
पति र सासुससुराको कुरा मान्ने हो भने व्यवसाय त्यागेर चुलाचौकामा खुम्चिनु पर्थ्यो। होइन, व्यवसाय नै गर्छु भन्ने हो भने घरबाटै निस्किनु पर्थ्यो।
उनले दोस्रो विकल्प रोजिन्। सानो छोरालाई हातमा डोर्याउँदै घरबाट निस्किन्। निर्णय सहज थिएन। घरबाटै विद्रोह गरेपछि अगाडि कति समस्या आउने हुन्, सोच्न भ्याइसकेकी थिइनन्। यो उनै सविता महर्जनको कथा हो– जो आज कीर्तिपुर होजियारीमार्फत सफल उद्यमी र समाजसेवी कहलिएकी छन्।
कीर्तिपुर ढल्पाचोकनेर दुईवटा ऐतिहासिक पोखरी छन्। पोखरीको छेवैको गल्लीबाट माथि निस्किने उकालो बाटोलाई कीर्तिपुर नगरपालिकाले आफ्नो पहिचान भन्दै पुरानै स्वरुपमा मर्मत गर्दैछ।
यही उकालोमै पर्छ सविताको घर। सविताले यो घर आफैँ बनाएकी हुन्। कीर्तिपुर होजियारी र कीर्तिपुर निटिङको कार्यालय र कारखाना पनि यहीँ छ।
एउटा सानो काठको भित्तामा राखिएको र्याकभरी विभिन्न बैंक, सिलाइ बुनाइका डिजाइन, वार्षिक रिपोर्ट, अडिट रिपोर्टजस्ता कैयन् फाइल छन्। टेबलकोे ल्यापटपसँगै ‘किचन म्याट’का डिजाइन स्याम्पलहरु छन्। भर्खर मात्र अमेरिकामा रेस्टुरेन्टहरुमा प्रयोग गर्न भन्दै यी म्याटका अर्डर आएका हुन्।
उनको कुर्सीपछाडि भित्तामा टाँसिएको विश्वका नक्सामा भएका अधिकांश मुलुकमा सविताले उत्पादन गरेका सामान पुगिसकेका छन्।
काठमाडौँ खाल्डैमा भएर पनि कीर्तिपुरलाई राज्यले बेवास्ता गरेको यहाँका व्यवसायीहरुको अनुभव छ। न त उनीहरुलाई राज्यले चिनेको छ, न उनीहरुले राज्यलाई।
काठमाडौँभित्र भएर पनि स्थापनाको ५४ वर्षपछि मात्र कीर्तिपुरमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको संघ स्थापना भएको छ।
‘धेरै संघर्षपछि मात्र यो संघ खोल्न सफल भएका छौं,’ सविताले कीर्तिपुरमा व्यवसायको स्थितिबारे बताइन्, ‘साना महिला उद्यमीले कोठैबाट व्यवसाय गर्ने भए पनि कम्तीमा प्यान कार्ड लिएर गरौं भन्ने हाम्रो अभियान छ।’
उनी स्पष्ट छिन्, ‘राज्यबाट सेवा सुविधा पाउने हो भने पहिला नागरिकले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ।’