नीलो कलम, सुशील दा र म

बाह्रखरी

काठमाडौं

उच्च शिक्षाका लागि रूस जाने तयारीमा थिएँ । उड्ने केही दिन अघि काका सुशील कोइराला (सुशील दा)को आशीर्वाद लिन पुगेँ । सधैँ शिक्षालाई उच्च महत्व दिने उहाँ म ज्ञान आर्जनका लागि विदेश जान लागेकोमा असाध्यै खुसी हुनुहुन्थ्यो । मैले ढोग गर्दै गर्दा उहाँका हात मायापूर्वक मेरो टाउकोमा थिए । अनि सुशील दाले भन्नुभयो, “अतुल, तिमीसँग केही माग्छु दिन्छौ त ?” म छक्क परेँ ।

असाध्यै मितब्ययी र लोभलालच नभएका सुशील दाले आफ्ना लागि के माग्न लाग्नु भएको होला भनेर म अचम्मित भइराखेको थिएँ । त्यसैबीच उहाँले भन्नुभयो, “तिमीले आफ्नो अध्ययन पूरा गरेपछि मलाई एउटा फाउन्टेन पेन ल्याइदिनू ।” 

कुरा २०४८ सालको हो । ति दिन आम मानिसबीच डटपेनको चाहना बढ्दो र फाउन्टेन पेनको प्रयोग घट्दो थियो । इमान्दारीपूर्वक भन्छु : उहाँले फाउन्टेनपेन मागेको सुनेर एक छिन त म चकित भएँ । अनि विगत सम्झिएँ, प्रायः महत्वपूर्ण कुराहरू लेख्दा सुशील दा फाउन्टेन पेन नै प्रयोग गर्नुहुन्थ्यो । 

म त्यो दिन भूल्न सक्दिनँ । सुशील दाले फाउण्टेन पेन ल्याइदिनु भने पछि मैले सोधेको थिएँ, “हजुरलाई कुन रङ मन पर्छ ?” अनि मतिर एकोहोरो हेरेर भन्नुभयो, “नीलो । शान्ति र बौद्धिकताको प्रतीक । त्यही नीलो रङ, जो नेपाली जनताको मनमनमा छ । जसले नेपाली झन्डाको रातो भागलाई वरिपरिबाट घेरेको छ ।” 

प्रकाशित मिति: : 2021-02-08 20:12:00

प्रतिकृया दिनुहोस्