अमेरिकामा अहिले पनि दैनिक १ लाख कोरोना संक्रमित

Photo - AFP
Photo - AFP

विश्वमा कोरोना संक्रमितको संख्या घटने क्रम जारी छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययन अनुसार अहिले संक्रमितको संख्या ५० प्रतिशतले घटिसकेको छ।

पछिल्लो दुई दिनअघि विश्वमा एक दिनमा ८ लाख ४५ हजारको वरिपरि संक्रमित भेटिने गर्थे। अहिले घटेर दैनिक ४ लाख ९५ हजार पुगेको छ। जनवरीमा हरेक दिन १५ हजारको हाराहारीमा मानिसहरूको निधन भइरहेको थियो। अहिले यो घटेर १० देखि १३ हजारसम्म पुगेको छ। 

तर, यति हुँदा पनि अमेरिकामा संक्रमितको संख्या नियन्त्रणमा आउन सकिरहेको छैन। अमेरिकामा अहिले पनि दैनिक १ लाखको हाराहारीमा संक्रमित भेटिने गर्छन्। विगतको तुलनामा स्थिति केही नियन्त्रणमा छ तर सन्तोष गरिहाल्ने ठाउँ भने छैन। 

शनिबार र आइतबार पनि संक्रमितको संख्या १ लाख ५ हजारको हाराहारीमा देखियो। जनवरीमा यो संख्या १ लाख ५० देखि २ लाख २५ हजारसम्म थियो। 

विश्वमा अहिले १० करोड ७० लाखको हाराहारीमा मानिसहरू संक्रमित भएका छन्। जसमा २३ लाखभन्दा बढी मानिसको निधन भइसकेको छ। अहिले पनि २ करोड ६० लाखको हाराहारीमा यस्ता मानिस छन्, जसको उपचार चलिरहेको छ। यसमा १ लाख मानिसको अवस्था गम्भीर भएको बताइन्छ।

प्रकाशित मिति: : 2021-02-08 07:11:00

प्रतिकृया दिनुहोस्