एटीएममा बैङ्कहरूको अर्बौँ खर्च : एकपटक पैसा निकाल्दा देशबाट १० रुपैयाँसम्म बाहिरिन्छ

रातोपाटी

काठमाडाै‌ं

एलिजा उप्रेती

तपाईंलाई थाहा छ, तपाईं-हामीले प्रयोग गर्ने एटीएमबाट अर्बौं नेपाली रुपैयाँ  विदेशिन्छ भनेर ? नेपालमा पछिल्लो समय एटीएम प्रयोगकर्ताहरू बढिरहेका छन् । चेक काटेर रकम झिक्ने परम्परा विस्तारै विस्थापित हुँदैछ । आफूलाई चाहिएको रकम एटीएम मेसिनमा कार्ड घुसाएर झिकिरहेका हुन्छौँ । नेपालमा विशेषगरी एससीटी र भिजा कार्डको प्रयोग बढी छ  । भिजा कार्ड धेरैजसो भारतबाट आउने गरेको छ भने थाइल्यान्डबाट  पनि भिजा कार्ड ल्याइन्छ ।

विशेषगरी भिजा कार्ड प्रयोगकर्ता जसले एक बैङ्कबाट अर्को बैङ्कसँग कारोबार गर्छन् भने त्यस्तो कारोबारमा केही रकम  विदेशिने गरेको छ । कुनै एउटा बैङ्कको भिजा कार्ड अर्को बैङ्कमा घुसाउँदा (अन्तर बैङ्क कारोबार) त्यसबाट प्रत्येक कारोबारमा १० रुपैयाँसम्म रकम बाहिर जाने गरेको बैङ्करहरू नै बताउँछन् । 

यो रकम एटीएम प्रयोगकर्ताबाट बैङ्कले लिन्छ भने बैङ्कले भिजा कार्ड डेभलपरलाई ६ देखि १० रुपैयाँ दिनुपर्छ । यस आधारमा बैङ्कले ग्राहकसँग लिने रकमको केही प्रतिशत रकम भिजालाई दिइन्छ । नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैङ्कहरूसँग नै कति रकम लिने भनेर पहिले नै डेभलपरले सम्झौता गरेका हुन्छन् । उनका अनुसार ६ देखि १० रुपैयाँसम्म पर्न जान्छ ।

भिजा कार्डको स्विच भारतमा भएकाले अन्तर बैङ्क कारोबारबाट रकम बाहिरिने गरेको सेन्चुरी बैङ्कका एक बैङ्कर बताउँछन् । ती बैङ्कर भन्छन्, ‘जति रुपैयाँ झिके पनि प्रतिकारोबार १० रुपैयाँ तिर्नुपर्छ अर्थात्  ६ रुपैयाँ भारु भिजालाई दिनुपर्छ ।’

प्रकाशित मिति: : 2021-02-03 14:27:00

प्रतिकृया दिनुहोस्