मंसिर महिनाको अन्त्यतिर वा पुसमा हिउँ परेन भने हिउँद छोटो हुन्छ। धेरै चिसो खप्नु पर्दैन भनेर जुम्लीहरु खुसी हुन्छन्। यतिसम्म हुँदा सुखद् संयोग जुरेको मानिन्छ।
तर पुसको १० गतेसम्म हिउँ परेन भने पीर पर्न सुरु भइजान्छ। सिंचाइको बन्दोबस्त नभएको र आकासे पानीको भर पर्नुपर्ने हुनाले हिउँ आइदेवस भनी किसानहरु निलो आकासतिर हेरेर कालो बादल मडारिएको कल्पना गर्छन्।
यसैबेला बेल्कुनीलाई हिउँ ल्यइदिने आशा गरिन्छ। बेलकुनी एउटा मिथ हुन। जाे स्त्रीको रुपमा प्रकट हुन्छिन्। उनी हरेक वर्षको पुस १२ गते माइत जान्छिन् र १६ गते घर फर्किन्छिन्।
उनी माइत जाने र आउने दिन जुम्लीहरु दिनभरि घरको चुलो खाली राख्दैनन्। खासगरी उनी हिउँ ल्याउन माइत गएकी हुन्छिन्। यो कुरा थाहा पाएका माइतीले समेसम्म १२ देखि १५ गतेसम्म हिउँ आफैँ पठाइदिन्छन्। नभए उनी फर्किनेबेला सँगै हिउँ पठाइदिन्छन्।
पुस १२ गतेसम्म हिउँ नपरेको साल बेलकुनीप्रति ठूलो आशा हुन्छ तर जब १६ गते पनि हिऊँ आउँदैन तब बेलकुनीका माइतीलाई समेत अनिकाल परेको लख काट्न थालिन्छ र गाउँघरमा अनिकाल पर्न सक्ने चिन्ता बढ्छ।
जिउलाका खेतमा जौ बिस्तारै बढ्न थाले पनि पाखाका बारीका जौ गौ पँहेलिन थाल्छन्। त्यसमाथि आम्दानीको प्रमुख स्रोत बन्न लागेको स्याउका लागि पनि हिउँ पर्न जरुरी हुन्छ। हिउँ नपरेर हिउदे बाली तथा वर्षे फलफुल नहुने छाँटकाट दुखेपछि जुम्ली किसानहरुका मन बहलिन थाल्छन्।
यो वर्ष माघ महिनाको तेस्रो सातामा लाग्दा पनि जुम्लामा हिमपात नभएपछि किसानको मनमा चिसो पसेको छ। पुस, माघमा हिमपात भएपछि हिउँदे बाली सप्रिने र वर्षे फलफूल स्याउ, नास्पाति, आरु ओखर समेत सिंचाइ हुने हुँदा बालीनाली तथा स्याउ उत्पादन बढ्छ।
समयमै पानी नपरेपछि उत्पादन घट्छ भने वार्षिक आम्दानीमा पनि ह्रास आउँछ।
चन्दन्दननाथ १० बोहरागाउँकी गौकली सार्कीलाई पनि यही कुराको पीर छ। एक सय पचास बुटा भएको स्याउको बगैंचा भएकी उनलाई हिउँ नपरेपछि उत्पादन गतिलो हुँदैन कि भन्ने पीरले सताउन थालेको छ।
'अहिलेसम्म हिउँ पडेको नाई। यो साल स्याउँ फल्दैनन्। फारममा सिंचाइको सुविधा नाई,' उनले भनिन्, 'मुख्य आम्दानीको स्रोत सुकेपछि मुल सुकेको नाउलो जस्तो हुन्या भयो यो साल।'
जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ। सबै क्षेत्रमा सिंचाइको सुविधा छैन। पुस माघको हिमपातकै भरमा हिउँ सङ्कलन गरी खाडल बनाएर हाल्ने हिउँ पोखरी निर्माण बनाउने हो।
यदि प्रशस्त हिउँ परेको खण्डमा बिरुवाले प्रसस्त पानी पाउँछन् तर हिउँ नै नपरेपछि स्याउ बगैँचामा कसरी सिंचाइ गर्ने भन्नेबारेमा स्याउ किसान निकै चिन्तित छन्।
पातारासी गाउँपालिका उर्थुका किसान दलबहादुर बुढथापाले भने, 'स्याउका नयाँ बिरुवा रोप्ने समय आइसक्यो हिउँ परेको नाई। सबै ठाउँमा सिंचाइको सुविधा छैन। हिउँ परेको भए जमिन ओसिलो हुन्थ्यो र बिरुवा छिटो हुर्कन्थ्यो। यस्तो बेला बिरुवा कसरी रोप्ने र हुर्काउने भन्ने चिन्ता छ।'
कृषि विकास कार्यलयल अनुसार जुम्लाका १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्। गत वर्ष कालो तुसारोका कारण स्याउ उत्पादनमा ५० प्रतिशत गिरावट आएपछि किसान मर्कामा परे।
यसपालि बेलैमा हिउँ पर्ला, स्याउ बगैंचामा सिचाई गरौला, काँटछाँट गरौला भन्ने सोचेका जुम्ली किसानलाई पाेहरकै नियति दोहोरिएला भन्ने पिर परेको छ।
अन्नबाली र स्याउ दुवै नभएपछि ठूलो समस्या आउन सक्ने बताउँछन्– कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा।
'पुस माघको महिनामा जुम्लामा हिमपात हुन अति आवश्यक छ। गत वर्ष हिमपात भएपनि कालो तुसारोका कारण स्याउ उत्पादन ५० प्रतिशत घटेको थियो,' उनले भने, 'वर्षेनी स्याउबाट मात्र ३४/३५ करोड आम्दानी हुने जुम्लामा गत वर्ष १६ करोड पुग नपुग आम्दानी भयो।'
उनका अनुसार जुम्लामा कृषि उत्पादन वृद्धि हुन हिउँद समयमै हिमपात हुन र वर्षा पानी परिरहन आवश्यक हुन्छ। तर यसपालि हिउँ नपर्दा हिउँदे बाली र वर्षे फलफूलमा उत्पादन घट्न सक्ने सम्भावना रहन्छ।
विगतमा धेरै हिउँ पर्योक भनेर दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका छन्। जलवायु परिवर्तनको कारण ढिलासम्म हिमपात नभएपछि किसान चिन्तित भएको कृषि विज्ञहरु बताउँछन्।
यता हुम्लामा पनि हिउँ परेको छैन । उत्पादन घट्ने चिन्ता यता पनि त्यतिकै रहको छ ।