के चार्ली च्याप्लेन कम्युनिस्ट थिए?

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि आफ्ना विरोधीहरूलाई व्यङ्ग कस्ने क्रममा विश्व चर्चित हास्य कलाकार चार्ली च्याप्लेनको बिम्ब प्रस्तुत गरेका थिए। 

नेपालीहरूले लामो समयदेखि चार्लीलाई बिर्सिसकेका थिए। प्रधानमन्त्रीको ब्यङ्गपछि युवा पुस्ताहरूमा चार्लीको बिषयलाई लिएर कौतुहलता बढेको छ।

आवाज नै नदिईकन आफ्नो हाउभाउबाट विश्वलाई हसाउन सफल चार्लीको पहिलो फिल्म आजकै दिन अर्थात २ फेब्रुअरी १९१४ मा रिलिज भएको थियो। यही वर्ष पहिलो विश्व युद्धको पनि सुरुवात भएको थियो।

पहिलो विश्व युद्धलाई प्रायः सबैले बिर्सिसकेका छन्। त्यो जमानाका मानिसहरू सायदै यो भूमण्डलमा जीवित छन्। तर, चार्लीको सम्झना आज पनि गरिन्छ। चार्लीले ‘मेकिङ अ लिविङ’ फिल्ममा पहिलो भूमिका निर्वाह गरेका थिए। यसमा उनी ठगको भूमिकामा देखा परेका थिए। हेनरी लेहरमनद्धारा लिखित तथा निर्देशित यो फिल्मको लम्बाई नै १५ मिनेटको थियो। 

चार्लीले आफ्नो पहिलो फिल्मबाटै वाहवाही कमाएका थिए। विशेषत चार्लीको जन्म १६ अप्रिल १८८९ मा भएको थियो। उनी बेलायतको राजधानी लण्डनमा एउटा सामान्य गरिब परिवारमा जन्मिएका थिए। उनको पुरा नाम चार्ल एपेन्सर च्यापलिन हो।

जतिबेला उनको उमेर ९ वर्ष थियो, उनको आमा–बुवाबीच पारपाचुके भयो। आमा मानसिक बिरामी थिइन भने घरको रेखदेखका लागि उनले पढाई छोडेर सानैमा काम गर्नुपर्यो।

९ वर्षको उमेरदेखि नै उनले काम गर्न सुरु गरिसकेका थिए। अभिनयको इच्छा उनलाई सानैदेखि थियो। त्यसैले नाटकहरूमा कमेडियनको भूमिका गर्ने गर्थे। उनको अभिनयबाट मन्त्रमुग्ध भएको अमेरिकाको एउटा कम्पनीले उनीसँग तुरुन्त सम्झौता गरेको थियो। यसपछि उनको बसाइँ बेलायतबाट अमेरिका सरेको हो।  

उनको फुल लेन्थ फिल्म ‘द किड’ १९२१ मा प्रदर्शन भएको थियो। उनको चर्चित फिल्म ‘अ वुमन अफ पेरिस, द गोल्ड रस’, ‘द गोल्ड रस’, ‘द सर्कस’, ‘सिटी लाइट्स’, ‘मोर्डन टाइम्स’ हो। आज पनि उनको फिल्मलाई धेरैले मन पराउने गर्छन। 

चार्लीको व्यवसायिक जीवनसँग जोडिएको एउटा विवाद पनि छ। यो फिल्म थियो, ‘द ग्रेट डिक्टेटर’। यसमा चार्लीले एडोल्फ हिटलरको भूमिका निर्वाह गरेका थिए। उनीमाथि कम्युनिस्ट भएको आरोप पनि लाग्यो। यसपछि उनीमाथि अमेरिकी केन्द्रिय अनुसन्धान एफबीआईले छानवीन गर्यो। अमेरिका छोडेपछि चार्ली स्विट्जरल्याण्डमा गएर बसे। 

चार्लीले ४ वटा बिहे गरेका थिए। उनको ११ जना केटाकेटी थिए। चार्लीको फ्यान बेलायतकी महारानीदेखि विश्व चर्चित बैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि थिए। महात्मा गान्धीबाट चार्ली निकै प्रभावित थिए। निधनपछि उनको लास नै चोरी भएको थियो। केही समयपछि भेटिएको थियो। उनको शरीरलाई ६ फिटको कंक्रिटमा गाडिएको थियो। 

अहिले पनि चार्लीको नाम सुन्ने वित्तिकै मानिसहरू हास्ने गर्छन। किनभने धेरैलाई हास्नुको अर्थ चार्ली लाग्छ। 
 


 

प्रकाशित मिति: : 2021-02-02 07:43:00

प्रतिकृया दिनुहोस्