म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध

अनलाइनखबर

काठमाडौं
Breaknlinks
Breaknlinks

म्यानमारमा भएको सैन्य ‘कू’को काठमाडौंमा विरोध भएको छ । बृहत नागरिक आन्दोलनका अभियन्ताहरूले सोमबार दिउँसो ४ः३० बजे माइतीघर मण्डलामा भेला भएर नेपालमा जस्तै प्रतिगमन सुरु भएको भन्दै विरोध गरेका हुन् ।

आइतबार सिफलमा विरोध प्रदर्शन गरेको नागरिक अभियन्ताहरूले माइतीघरमा आकस्मिक विरोध प्रदर्शन गरे ।

दिउँसो अनामनगरमा बसेको ‘बृहत् नागरिक आन्दोलन’को बैठकले लोकतन्त्र एउटा देशसँग मात्र सम्बन्धित नहुने निचोड निकाल्दै तत्काल विरोध गर्ने निर्णय गरेको थियो । बैठकपछि अभियन्ताहरू युग पाठक, नारायण वाग्ले, राजेन्द्र महर्जन, अर्चना थापा, सञ्जीव उप्रेती, रीता परियार लगायतको टोली माइतिघरतर्फ लागेका थिए ।

विरोध प्रदर्शनमा ‘म्यानमारी जनताको अधिकार फिर्ता गर’, ‘हामी म्यानमारको जनताको पक्षमा छौं’ लगायतका ब्यानर बोकेर अभियन्ताहरूले प्रदर्शन गरेका थिए । उनीहरूले सैनिक सत्तामाथि विश्व समुदायको कहिल्यै साथ नहुने भन्दै शान्तिपूर्ण भेलासहित आफ्ना कुरा राखे ।

प्रदर्शनमा बोल्दै अभियन्ता सागर परियारले विश्वको जुनसुकै देशको लोकतन्त्रमाथि आक्रमण भए पनि त्यो सह्य नहुने बताउँदै सैन्य ‘कू’को भर्त्सना गरे । परियारले भने, ‘कुनै पनि ‘कू’ स्वतन्त्र नागरिकले स्वीकार गर्न सक्दैन । अझ म्यानमारको सन्दर्भमा त्यहाँ निकै जटिल अवस्था छ । यसैले तत्काल लोकतन्त्र बहाली हुनुपर्छ ।’

यता प्रदर्शनलाई सम्बोधन गर्दै विश्लेषक उज्ज्वल प्रसाईंले म्यानमारको कूबाट नेपाली नागरिकले पनि पाठ सिक्दै सचेत हुनुपर्ने बताए । प्रसाईंका अनुसार नेपालमा पनि कमजोर प्रतिपक्षको फाइदा उठाउँदै जुनसुकै बेला कू हुन सक्नेछ । ‘पुसमा संसद विघटन भयो, माघमा सैन्य अभ्यास भन्दै बख्तरबन्द गाडी सहरमा घुमाइँदैछ’ प्रसाईंले भने, ‘यो प्रतिकूल अवस्थामा हाम्रो लोकतन्त्रमाथि प्रहार हुने सम्भावना धेरै हुन्छ ।’

प्रकाशित मिति: : 2021-02-01 20:45:00

प्रतिकृया दिनुहोस्