शेयरबजारमा उत्साह, नेप्से सूचक फेरि २४ सय विन्दुमाथि

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा फेरि उत्साह देखिएको छ। आइतबार एकाएक घटेको बजार सोमबारको वृद्धिसँगै नेप्से सूचक फेरि २४ सय विन्दुमाथि पुगेको छ।सेयर राफसाफ चक्रमा टी प्लस टु लागू भएसँगै लगानीकर्तामा केही अन्योलता उत्पन्न भएको थियो। लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले महत्वपूर्ण हुने रेखामाथि नै बजार टिकेको हो।

नेप्से सूचक १.५९ प्रतिशत अर्थात ३७.७० अंकले बढेर २४०८.२४ विन्दुमा पुगेको छ। २०३ कम्पनीको ६५ हजार ७७८ पटकको कारोबारमा ६ अर्ब ९७ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर खरिद बिक्री भएका छन्।

नेप्से सूचक उकालो लाग्दा साताको दोस्रो दिन १० कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। प्रोगेसिभ फाइनान्स र सेन्चुरी कमर्शियल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ। 

यस्तै पोखरा फाइनान्स, प्रभु लाइफ, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल, तारागाँउ होटल, बेष्ट फाइनान्स, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको शेयरमुल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा लघुवित्त वित्तीय संस्थाहरु धेरै छन्। कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक शेयरमूल्य ७.२४ प्रतिशतले घटेको छ।
यस्तै गुराँस लघुवित्त, सारथी नेपाल, सामुदायिक लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स लगायतको शेयर मूल्य ओरालो लागेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ९९ लाख, र नेपाल लाइफको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूहका परिसूचक सकारात्मक देखिएका छन्। लघुवित्त उपसमूहको परिसूचक ०.६९ प्रतिशत र म्युचुअल फण्डको सूचक ०.०१ प्रतिशतले घटेको छ।

यस दिन लगानीकर्ताहरुको आकर्षण होटल उपसमुहमा देखिएको छ। होटल उपसमुहका सूचक सबै भन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ। फाइनान्स उपसमुहको सूचक ३.५९ प्रतिशतले उकालो लागेको छ।

यस्तै विकास बैंक,उत्पादन तथा प्रशोधन, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रकाशित मिति: : 2021-02-01 16:40:00

प्रतिकृया दिनुहोस्