१३ वर्षसम्म फलामको साङ्लोमा बेरिँदा...

थाहा खबर

काठमाडाै‌ं

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शुक्रबार सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा) समापन समारोहमा केही अतिथिहरू आइरहेका थिए भने, कोही आएर कार्यक्रम हलमा बसिसकेका थिए। केही कलाकारहरू सांस्कृतिक पोशाकमा सजिएका देखिन्थे।

मानव सेवा आश्रमले एक महिना अवधिमा सडकमा अलपत्र परेका व्यक्तिहरूको कसरी उद्धार भयो भन्ने प्रत्यक्ष भिडियो ठूलो पर्दाको स्क्रिनमा देखाइरहेको थियो। एक कहालीलाग्दो, तर वास्तविक कथा थियो उमाकान्त चौधरीको।

उमाकान्त सप्तरी जिल्लाका हुन्‌। मनोरोगका कारण खुर्पाले आफ्नै बुहारीलाई हिर्काएपछि १३ वर्षसम्म उनलाई फलामको साङ्लोमा बाँधियो। परिवार र छिमेकीकै ज्यान जाने जोखिम भएकाले उनलाई बाँधिएको साङ्लोको चापी खोल्ने हिम्मत कसैले गरेनन्। गाई गोठको मलमुत्रमा बस्न बाध्य भए, १३ वर्ष त्यसरी नै जीवन बिताए।

त्यो अवधिसम्म उनकै श्रीमतीले खानपिन गरेर स्याहारिन्‌। द‌ृश्यमा २ मिटर लामो फलामको साङ्लो मासुमै फसेको देखिन्थ्यो। 

१३ वर्षपछि उनको अवस्था मानव सेवा आश्रमले थाहा पायो। त्यसपछि सामाजिक अभियन्ता उनलाई साङ्लो मुक्त बनाउने उद्देश्यले गए। छेउमा जाँदा उमाकान्तले अभियन्तालाई नै लखेटे र पिटे पनि। तर, अभियन्ता पछि हटेनन्। अन्तत: खिया लागिसकेको चाबी तोडेर उमाकान्तलाई साङ्लोमुक्त बनाए। उनलाई अभियन्ताले आश्रममा लगे। शरीरमा घाउ हेरिसक्नु थिएन। उपचार गरे।

प्रकाशित मिति: : 2021-02-01 07:59:00

प्रतिकृया दिनुहोस्