दिल्लीको हिंसात्मक प्रर्दशनलाई प्रोत्साहन हुनेगरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा पूर्वमन्त्री शशी थरुरमाथि मुद्दा दर्ता भएको छ।
पूर्वमन्त्री थरुर, पत्रकार राजदीप सरदेसाई र मृणल पाण्डेसहित अन्य ६ जनाविरुद्व दिल्लीको आईपी प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको हो।
केन्द्र सरकारको आदेशमा दिल्ली प्रहरीले हिंसा भड्काएको यी सबैले ट्वीटमा लेखेका थिए। असंवेदनशील तर्कका कारण राष्ट्रिय एकतामा खतरा भएको आरोप उनीहरुमाथि लागेको छ।
यसअघि यिनीहरुमाथि उत्तरप्रदेशको नायडा, हरियाणाको गुरुग्राम र मध्यप्रदेशको भोपालका विभिन्न प्रहरी स्टेशनमा उजुरी दर्ता भइसकेको छ।
मंगलबार भारतको राजधानी दिल्लीमा आन्दोलनरत किसानले लालकिल्लामा हिंसात्मक प्रदर्शन गरेका थिए। योसँगै प्रहरीले उनीहरुको ट्वीट रिट्वीट गर्ने मानिसहरुलाई समेत विपक्षी बनाएको छ।
मंगलबार नयाँदिल्लीमा किसान परेड प्रर्दशन गर्दा एक किसानले ज्यान गुमाएका थिए। लगतै, पूर्व केन्द्रीय मन्त्री तथा कांग्रेस सांसद शशी थरुर, इण्डिया टुडेका सम्पादक तथा वरिष्ठ पत्रकार राजदीप सरदेसाई, नेशनल हेराल्डका सम्पादकीय सल्लाहकार मृणाल पाण्डे, कारवां पत्रिकाका प्रधानसम्पादक परेशनाथ, प्रबन्ध सम्पादक अनन्त नाथ र कार्यकारी सम्पादक विनोद के जोशलगायतले हिंसात्मकलाई प्रोत्सान दिने ट्वीट गरेका थिए।