भिडियोमा रमाउँदै राजेश हमाल

बाह्रखरी

काठमाडाै‌ं

कोभिड-१९ का कारण फिचर फिल्म ठप्प भएका बेला चलचित्रका धेरै नायक/नायिका म्युजिक भिडियोमा अभिनय गर्न पुगे । लोकदोहोरीका भिडियोमा पनि थुप्रै नायक-नायिका देखिए । त्यसमध्येका एक हुन्, राजेश हमाल । पछिल्ला केही वर्ष यता चलचित्रबाट विश्राम लिएका नायक हमाल पछिल्लो समय म्युजिक भिडियोमा बाक्लै अभिनय गरिरहेका छन् । 

केही दिनअगाडि मात्रै कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वरमा ‘बरको छायाले’ बोलको लोकदोहोरी गीत सार्वजनिक भयो । उक्त गीत अहिले युट्युब ट्रेन्डिङमा पनि छ । गीतसँगै भिडियो पनि सार्वजनिक भयो । १४ मिनेटको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् । यो त उनको पछिल्लो एउटा गीत हो । यसभन्दा अगाडि उनका थुप्रै गीत छन्, जहाँ राजेशले अभिनय गरेका छन्।

कुनै समय चलचित्रको सुटिङ सेटमा भ्याइनभ्याई हुने राजेश अहिले म्युजिक भिडियोमा रमाइरहेका छन् । त्यसो त उनी चलचित्र नपाएर म्युजिक भिडियोमा भने आएका होइनन् । ‘सकुन्तला’ पछि उनले कुनै चलचित्रमा अभिनय गरेका छैनन् । यद्यपि केही दिन अगाडि मात्रै उनले चलचित्र ‘सत्यम्’ साइन गरेका छन् ।

प्रकाशित मिति: : 2021-01-31 07:08:00

प्रतिकृया दिनुहोस्