भूमिदान महाअभियान शुरु

पूर्वको पशुपतिनाथको रूपमा चिनिएको झापाको अर्जुनधारा जलेश्वरधामले गुरुयोजना लागू गर्न जग्गा अपुग भएको जनाउँदै भूमिदान महाअभियान शुरु गरेको छ।

आज धाम परिसरमा आयोजित महाअभियानको घोषणासभामै विर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाले पन्ध्र सय वर्गफिट जग्गा खरिदका लागि रु पाँच लाख २५ हजार दान गरे।

पचास वर्षअघि खडेबाबा नामका एक सन्तले स्थापना गरेको यस धामको विकासका लागि हालै अनुमोदित गुरुयोजना पाँच बिघा जग्गामा फैलिएको छ। तर यसका लागि धाम क्षेत्रको दक्षिण सीमा जोडिएको १० कठ्ठा जग्गा अपुग भएको हुँदा सो जग्गा खरिदका लागि भूमिदान महाअभियान सचालन गर्नुपरेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताए।

अभियान घोषणासभामै विभिन्न दाताले रु १२ लाख मूल्य बराबरको भूमिदान गरेका उनले जानकारी दिए। धामले भूमिदान गरेर गुरुयोजनाको लक्ष्य पूरा गरिदिन आम भक्तजन एवं दाताहरुलाई आह्वान गरेको छ। खरिद गर्न लागिएको जग्गाको न्यूनतम एक वर्गफिट जग्गाको मूल्य रु ३५० हुने भएको जनाउँदै एक वर्गफिटदेखि माथि जति पनि भूमिदान गर्न सकिने धामका कोषाध्यक्ष मनोज जोशीले बताए। 

काठमाडौँको शेर इञ्जिनीयरिङ कन्सल्ट प्रालिले अर्जुनधारा जलेश्वरधामको गुरुयोजना डिजाइन गरेको हो। गुरुयोजनामा धार्मिक क्षेत्रको विकास र व्यवस्थापनका लागि दर्जनौँ कार्यहरु गर्नुपर्ने औँल्याइएको छ। धामका कोषाध्यक्ष जोशीका अनुसार गुरुयोजनामा पाँच वर्षभित्र कार्यसम्पन्न गर्ने गरी रु ७५ करोड बजेट आवश्यक हुने उल्लेख छ। धामले आजै पत्रकार सम्मेलन गरी गुरुयोजना सार्वजनिक गरेको छ।

वर्षेनी लाखौँ धार्मिक पर्यटकको ओइरो लाग्दै आएको अर्जुनधारा जलेश्वरधाममा हाल पशुपतिनाथकै जस्तो प्यागोडा शैलीको मन्दिर रहेको छ। महाभारतकालीन कथामा वर्णित अर्जुनले वाण हानेर गाईलाई पानी पिउने व्यवस्था मिलाएको स्थलको रूपमा ठूलो पोखरी, गुरुकूल र अन्य मठमन्दिर हाल धाम परिसरमा रहेका छन्।

मूल मन्दिरको परिक्रमा मार्गभित्र धार्मिक मठमन्दिरबाहेक अरु कुनै पनि संरचना राख्न गुरुयोजनामा वर्जित गरिएको छ। गुरुयोजनाको कार्यान्वयनको क्रममा हाल सो स्थानमा रहेका केही पक्की संरचना हटाइनु पर्नेछ। महाभारतकालीन कथालाई उजागर गर्ने कलात्मक सङ्ग्रहालय, गुरुकूल, तीन तला भएको सवारी पार्किङस्थल, स्थायी व्यासासन, प्रहरी बिट, अतिथि गृहलगायतका नयाँ संरचना बनाउन गुरुयोजनामा स्थानको व्यवस्थापन गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-01-30 21:39:00

प्रतिकृया दिनुहोस्