नेकपाको दुःख– आधिकारिक हौं भन्ने, फुट्छौं नभन्ने

अनलाइनखबर

काठमाडौं

बिराटनगर पुगेर शुक्रबार नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताउँदै आफूलाई विजयी भावमा प्रस्तुत गरे ।

प्रदेश–१ स्तरीय बृहत सभा सम्बोधन गर्दै नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछाइरिसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

निर्वाचन आयोगले भने स्वयं नेपालकै अध्यक्ष पद वैधानिक मानेको छैन । पुस ५ यता भएका निर्णय अमान्य भन्दै आयोगले नेकपा ओली समूहले थप गरेका १०५६ केन्द्रीय सदस्यसहित माधव नेपालको अध्यक्ष पदलाई पनि वैधानिकता दिएन ।

केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर यो समूहले पुस ७ मै नेपाललाई अध्यक्ष चयन गरेको थियो । केन्द्रीय कमिटीको बहुमतले गरेको यो निर्णयलाई आयोगले मान्यता दिनुपर्ने यो समूहको दावी थियो ।

तर, आयोगले २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएपछि बुझाइएको विधानअनुसार, ओली र पुष्पकमल दाहाल प्रचण्ड आलोपालो अध्यक्ष रहने र ४४१ सदस्यीय केन्द्रीय कमिटी नै मान्य हुने निर्णय गरेको छ । माघ ११ मा आयोगले गरेको यही निर्णयलाई लिएर अध्यक्ष नेपाल प्रशंन्न देखिन्छन् । उनको तर्क छ– ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिइयो, हामीसँग ७० प्रतिशत केन्द्रीय सदस्य भएकाले वैधानिक नेकपा भयौं ।

तर, आयोगले भने कुनै पनि समूहलाई अहिलेसम्म वैधानिकता नदिएको प्रष्टोक्ति दिएको छ । आयुक्त ईश्वरी पौडेल, वैधानिकता दावी नै नआएकाले यसबारे कुनै निर्णय नलिइएको बताउँछन् । ‘नेकपाको दुईवटा गुट भए पनि हामीलाई आधिकारिकता देऊ भनेर चाहिँ राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४४ (१) अनुसार, कुनै गुट नआएको हुनाले आधिकारिता दिने भन्ने प्रश्न कही पनि आएन’, उनी भन्छन् ।

प्रकाशित मिति: : 2021-01-30 08:50:00

प्रतिकृया दिनुहोस्