कन्सेल्टेन्सी

रूमु न्यौपाने

काठमाडाैं
Breaknlinks
Breaknlinks

सोनिया मलाई भेट्न आइरहन्थी, मेरो कन्सल्टेन्सीमा। मेरो त के भन्नु ? जे होस् त्यसमा मेरो पनि शेयर भएको कारणले गर्दा पनि ‘मेरो’ भन्दा फरक नपर्ला। हुन त संसारमा कतिपय कुराहरु मानिसले मेरो आफ्नै हो भन्दा पनि आफ्नो हुन सक्दैन। त्यो कन्सल्टेन्सीमा त झन् पाँच जाना पार्टनर थिए। अनि त्यहाँ भएका सबैले मेरो कन्सल्टेन्सी भने होलान्। अँ ! म कुरा गर्दै थिए उसको जो बारम्बार मेरो कन्सल्टेन्सीमा मलाई भेट्न आइरहन्थी। आफ्नै दिदि बहिनी नभए पनि आफ्नै जस्तो सम्बन्ध थियो हाम्रो। त्यसैले पनि ऊ मलाई भेट्न आउँदा मलाई खुशी लाग्थ्यो।कन्सल्टेन्सीको वातावरण ठीकै थियो। म एकदमै छरितो बनेर उनीहरुले जे–जे भन्थे– सबै गरिदिन्थेँ। म पार्टनरभन्दा पनि त्यहाँको स्टाफजस्ता थिए। उनीहरुले भनेका सबै काम खुरुखुरु गरिदिन्थेँ। सायद् त्यसैले उनीहरु मदेखि खुशी थिए। संसारमा जसले जे भने पनि मानिसको लागि कामै प्यारो त हो। उनीहरुले भनेको काम नाई नास्ती नगरी खुरुखुरु गरेकै हुनाले त म उनीहरुको प्यारो भएकी थिएँ। 
******
सोनिया र मेरो भेट अस्ट्रेलियामै भएको थियो। हामी बस्ने ठाउँ पनि अस्ट्रेलियामा सँगै थियो। यहाँ एउटा कार्यक्रममा उसको ममि र मेरो ममिको भेट भयो। पछि आवतजावत गर्ने क्रममा हामी नजिकियौं।

मेरो खुट्टाको अपरेशन गर्नुपर्ने भयो। म खुट्टाको अपरेशन गरेर शैय्यामा लडिरहँदा सोनिया र उसको ममी मलाई भेट्न आए। मैले छुट्टै किसिमको अपनत्व महसुस गरेँ– त्यतिखेर।

मलाई भेट्न आउँदा उसले भनी, ‘दिज्यू, मलाई यतिखेर काम चाहिएको छ। मैले पुरानो काम छोडिदिएँ।’

मैले तत्कालै आफ्नो कन्सल्टेन्सी अफिसमा स्टाफ चाहिएको कुरा सम्झेँ। त्यसपछि कन्सल्टेन्सीको निर्देशकलाई फोन गरेर उसलाई त्यहाँ काम मिलाइदिएँ। 
मेरो खुट्टा बिस्तारै ठीक हुँदैं थियो। जब खुट्टा ठीक भयो तब देशमा कोरोना भाइरसको महामारी फैलिएर लकडाउनको घोषणा भयो। त्यसपछि मैले खुट्टालाई आराम दिनको लागि टन्नै समय पाएँ।

अफिसमा सबैले माया गरेझैं बेलाबेलामा हालखबर सोध्थे। हेर्न पनि पुगे– अस्पतालमा भर्ना हुँदा। अनि त्योभन्दा बढी के खोज्नु ? मलाई त्यहाँका सबैजना आफ्नै परिवारझैँ लाग्थे।

लगभग ६ महिनापछि लकडाउन मुक्त भयो– नेपाल। त्यसपछि मैले झण्डै आठ महिनापछि कन्सल्टेन्सीमा पाहिला टेकेँ। शेयरहोल्डर नै भए पनि मैले महिनाको तलब लिएर काम गर्थें।

दुःख त त्यसबेला लाग्यो जब सोनियालाई मलाईभन्दा बढी तलब दिने निर्णय गरियो।

मेरो अपरेशनपछि अफिसको माहौल पूरै परिवर्तन भइसकेको थियो। मैले छोडेर गएजस्तो कन्सल्टेन्सी थिएन। किनकि, त्यहाँ महिलाको जमात बढी थियो। अनि त्यो महिलाको जमातमा पुरुष पनि महिलाजस्तै आचरणका भएर निस्ँिकदै थिए।

सोनिया मसँग मीठो बोल्थी। नम्र बोल्थी तर उसको मुहारमा मप्रति झल्किएको क्रोध र ईष्या म राम्रोसँग महसुस गर्न सक्थँें। 

लामो समयको बिदापछि जाँदा त्यहाँ मैले अर्की विवाहित महिलालाई देखेँ। नर्भदा नाम गरेकी ती महिलाको मसँग घनिष्टता बढ्दै गयो।

यति घनिष्टता बढ्यो कि उसले आफ्नो श्रीमान, घरपरिवार सबैको कुरा सुनाउन भ्याई तर कामकै सिलसिलामा भेट भएको कारणले गर्दा एकअर्कालाई ‘म्याम’ भनेर सम्बोधन गथ्र्यौं। यसरी दुई जनाले मात्रै शेयर हालेर सुरु भएको कन्सल्टेन्सीमा पाँच जाना पार्टनर भयौं।

अनि जति धेरै शेयरहोल्डरहरु भयौँ, उति धेरै कुरा ! उति धेरै अहम् बढ्न थाल्यो सबैमा। मलाई त्यहाँको वातावरण एक्कासी चीसो लाग्न थाल्यो। उनीहरु मसंग कम बोल्न थाले।

अझ सोनिया त झन् बोल्नै छोडी। म पनि आफ्नै काममा व्यस्त हुँदै गएँ। भन्छन्– दूध दिने गाईको लात्ती पनि सहनुपर्छ रे ! तर यदि गाईले दूध कम दिएर लात्ती बढी हान्न थाल्यो भने त्यसको विकल्प खोज्नुपर्छ।

नर्भदाको अनुहार हेर्नमा एकदम राम्रो थियो। त्यसैले उसलाई आफ्नो रुपको घमण्ड थियो तर उसले यो बिर्सेकी थिई कि मुहार जति राम्रो भए पनि चाउरेर जाने हो ! शरिर जति आर्कषक भए पनि अन्तमा माटोमै मिल्ने हो !

नर्भदा अफिसपछि पनि मलाई फोन गर्थी। अनि भन्थी, ‘हेर्नु न म्याम ! मलाई त यो कन्सल्टेन्सीमा दिक्क लाग्न थालेको छ। तपाईलाई अफिसमा सरले सोनियालाई बढी नै प्राथमिकता दिनुभएको छ जस्तो लाग्दैन ?’

मैले मनमनै सोचेँ, ‘ओहो! यसले त मेरो मनकै कुरा भनी !’ 

हुन पनि हो– सोनियालाई चाहिनेभन्दा बढी प्राथमिकता दिएका थिए सरले। त्यसमाथि उसको तारिफ पनि धेरै नै हुन्थ्यो। 
मलाई यस्तो लाग्थ्यो– उनीहरुले सोनियासम्म पुग्न पूल पाए। अनि नदी तरेपछि पूललाई नै बेवास्ता गरिदिए तर एकपटक पनि उनीहरुले मलाई सोनियालाई त्यस कन्सल्टेन्सीमा लगेबापत धन्यवाद दिएनन्। 

नर्भदा आफ्नै ‘प्लान’ सुनाउनमै व्यस्त हुन्थी– ‘आज यसलाई भेटेँ, यो किनेँ, यस्तो ठाउँमा गएँ।’ आदि इत्यादि।

वास्तवमा मेरो यो क्षेत्र हुँदै होइन तर मेरा एक जना आफन्त पर्नेले मलाई लोभ र प्रलोभन देखाएर पैसा लगानी गर्न लगाउनुभयो। ‘नानी, कन्सल्टेन्सीबाट जति विद्यार्थी पठायो उति कमिसन पाइन्छ। अनि एक वर्षभित्रै तपाईसँग गाडी किन्ने पैसा हुन्छ।’ उहाँ प्रायः यसै भन्नुहुन्थ्यो।

हुन त मैले पनि देखेकी थिएँ– मेरो साथी एक्लैले कन्सल्टेन्सी चलाएर कहाँबाट कहाँ पुगेको। त्यसैले मैले तुरुन्तै स्वर्णिम सपना सजाएँ तर सपना सपनामै सीमित भए।

त्यहाँको वातावरण दिन–प्रतिदिन बिग्रिँदै गइरहेको थियो। मलाई सोनिया, नर्भदा र त्यहाँ विराजमान अन्य स्टाफहरुसँग बोल्नै मन लाग्दैन थियो। नर्भदाले नजिकिएजस्तो गरेर मेरो सबै आन्तरिक कुराहरु थाहा पाई। अनि मसँग कम बोल्न थाली।

काममा बैठक बसे, नर्भदाले फेरि शेयर थप्ने कुरा गरी। म छक्क परेँ। केही दिनअघिसम्म कन्सल्टेन्सी छोडेर अरु नै विजनेस गरौँ भनेर मलाई उकास्ने नर्भदा अब त्यही कन्सल्टेन्सीमा शेयर थप्ने भई।

मैले त्यसैबेला शेयर फिर्ता लिएर कन्सल्टेन्सी छोड्ने निर्णय सुनाइदिएँ। नर्भदाले त्यस रात मलाई फोन गरेर मेरो घाउमा नुन छर्ने काम गरी। 
मैले उसलाई कुरैकुरामा सोधेँ, ‘म्याम, मैले कन्सल्टेन्सी छोडें भने कमिसन पाउँछु कि पाउँदिन होला ?’

उसले त्यतिखेर निकै सोझी बनेर भनी, ‘खै, सरलाई सोध्नु न !’ तर, मैले कसैलाई सोधिनँ। मैले शेयरपछि फिर्ता लिने उद्देश्यले केही नभनी छोडिदिएँ। 
सोनिया स्टाफ मात्रै थिई। लकडाउनपछि व्यापारमा आएको घाटाको कारण उसको तलबमा ५० प्रतिशत कटौती गरिएको थियो। हाम्रो तलब यथाव् थियो। 
मैले कन्सल्टेन्सी छोडेको थाहा पाएपछि उसले मलाई फोन गरेर भनी, ‘दिज्यू, भोलि एउटा केटालाई भेट्नु छ। हजुर मेरोलागि साथी हिँड्स्यो है !’ 

मैले जीवनमा धेरै कुरा सिकेँ तर ‘नाई’ भन्न कहिल्यै सिकिनँ र जानिनँ। सोनियालाई पनि मैले ‘नाई’ भन्न सकिन। उसले भनेको समय र स्थानमा उसलाई भेट्न गएँ। 
त्यहाँ सोनिया मात्रै थिई। अरु कोही थिएनन्। मलाई भटेपछि उसले कफी मगाई। अनि भन्न थाली, ‘खासमा आज कोही आउने हैन। मलाई हजुरसँग कुरा गर्नुछ।’ 
मैले उसको मनशाय बुझिसकेको थिएँ। उसले बिनाकुनै सङ्कोच भन्दै गई, ‘म त्यत्रो काम गर्छु। अनि मैले चाहिँ कम तलब खाने हजुरले केही काम नगरेर पनि मभन्दा बढी तलब खाने ?’

उसको कुराले मेरो मन कुडियो। जसलाई मैले नै जागिर नपाएर भौँतारिरहेको बेला जागिर लगाइदिएँ, उसैलाई मेरो तलबसँग रिस उठ्यो। 
फेरि छक्क परेँ, ‘यो त अफिसको गोपनीयताभित्र पर्छ। अनि सोनियालाई मैले यति तलब खान्छु भन्ने कसरी थाहा भयो ?’ त्यसपछि निकै बेर उसले आफ्नो कुण्ठा पोखी। मैले मान्छे चिनेँ। 

त्यसपछिका केही दिन म यत्तिकै बसेँ। केही दिनपछि मेरा आफन्तले फोन गरेर मैले कन्सल्टेन्सीको सरसँग कमिसन नपाए झगडा गर्ने भनेर चेतावनी दिएँ रे ! अनि उनी मसंग एकदम रिसाए रे ! भन्ने खबर सुनाउनुभयो। 

मलाई झन् रिस उठ्यो। उनीहरुले फेरि आकस्मिक बैठक राखे। मेरी आमाले यसपटक मेरो ठाउँ लिएर बैठकमा सामेल हुनुभयो। एउटी आमाले सबै कुरा सहन सक्छिन् तर आफ्नो सन्तानलाई लगाएको झूटो आरोप सहन सक्दिनन्। 

बैठकमा मैले गरेका कुराहरु सबैमा फूलबुट्टा पारेर सुनाइदिएछन्। मेरा आफन्तले मेरी आमालाई हात जोडेर माफी माग्न लगाउनुभएछ। जुन आमालाई हामीले यत्तिका वर्षसम्म कहिल्यै कुनै कुरामा झुक्न दिएनौँ। त्यही आमालाई उनीहरुले आधा घण्टाको बसाइमा हात जोडेर माफी माग्न बाध्य बनाए। 
यहाँसम्म कि उनीहरुले मलाई मानसिक अवस्था ठीक नभएकोसम्म भन्न भ्याएछन्। म आफू सामेल थिइनँ तर पनि उनीहरुले भनेका शब्दहरुले मेरो मनमा नराम्रोसँग बिझ्यो।

सोनियाले पनि त्यसपछि फेसबुकमा ब्लक गरी। सबै जनासँग सम्बन्ध ट्ट्यो। 

सम्बन्ध टुटेर त केही भएन। बाटोमा भेटिएका मानिस बाटोमै बिलाउँछन् तर त्योसँगै आफूले लगानी गरेको सात लाख पचास हजारबाट मैले छ लाख मात्रै पाएँ। मैले एक शब्द केही बोलिनँ। 
जहाँ बोलेर आफ्नो बोली हलुका हुन्छ, त्यहाँ बोल्नुको कुनै औचित्य रहँदैन। सबैभन्दा ठूलो कुरा मैले मान्छे चिनेँ। अनि जीवनमा मान्छे चिन्नु भनेको पनि कठीन कार्य रहेछ।

मान्छेको मुहारमा एउटा कुरा हुन्छ, अनि मनमा अर्को। सोनिया त्यहाँ नआउञ्जेलसम्म मैले पिउन, मार्केटिङ, काउन्सिलर सबैको काम गरेँ। अनि जब सोनिया र नर्भदाको प्रवेश भयो, मेरो स्वाभिमानमा दाग लाग्यो। यसैबाट चिनेँ– मैले सबैलाई र उनीहरुको आचरणालाई पनि। उनीहरुले खुट्टा तानिरहे। म आफ्नै बाटो हिडिरहें। 

प्रकाशित मिति: : 2021-01-30 08:39:00

प्रतिकृया दिनुहोस्

    मान्छेका इर्ष्यालु स्वभावबारे वर्णन गरिएको यस कथाले सामाजिक यथार्थता बोलेको छ । हाम्रो नेपाली समाजमा अझेैपनि खुु्ट्ट्ा तान्ने प्रवृत्तिको अन्त्य भएको पाइदैन । र अरुको भलो नभएर कूभलो चिताउने गरेको देखिन्छ । यिनै तितो यथार्थलाई सरल, सहज भाषाशेैलीमा लेखिएको यस कथाले मान्छेमा जस्तोसुकै चुुनाेैती आएपनि पछि हट्नु हुन्न भन्ने सन्देश दिएको छ । सुन्दर कथा पढ्ने अवसर दिनुभएको मा कथाकारलाई धन्यवाद !

    • 3 बर्ष अगाडि
    • सरु काविया