हस्ताक्षरकर्ताले नै मास्न खोजे संविधान

नागरिक दैनिक

काठमाडाैं

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ । सोही सहमतिको जगमा टेकेर २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । १६ बुँदे सहमतिपछि छोटो समयमा संविधान जारी गर्न तत्कालीन एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको महत्वपूर्ण भूमिका थियो । संविधान जारी भएपछि ओली आफैंले भनेका थिए, ‘नयाँ संविधानले राजनीतिक स्थायित्व र समृद्धि ल्याउनेछ ।’  

चार राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी र फोरम (लोकतान्त्रिक) बीच भएको १६ बुँदे सहमति कार्यान्वयनमा आउन नदिन बीचबीचमा देखिएका अवरोध चिर्दै संविधान जारी गराउन महत्वपूर्ण भूमिका खेल्नेमध्येका एक नेता ओली थिए । सहमतिपत्रमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, तत्कालीन एमाले अध्यक्ष ओली, तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेका थिए । उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमले भने सहमति जनाएको थिएन । १६ बुँदेपछि संविधानका विवादित सबै विषयमा सहमति भयो । १६ बुँदे समझारीमा प्रदेश संख्या, संघीय सांसद संख्या, निर्वाचन प्रणाली, दुई सदनात्मक व्यवस्था, संसदीय प्रणालीलगायतमा सहमति बनेको थियो ।

प्रकाशित मिति: : 2021-01-30 07:23:00

प्रतिकृया दिनुहोस्