लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन्।
लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन्। घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उनका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएका थिए। उनीहरुको दयनीय अवस्था देखेपछि गायक लामाले ६ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन्। उनले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गरेका छन्।
विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए। घरसँगै धारासमेत बनाइएको छ। स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थिए।
‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेकाे सापकोटाले जानकारी दिए। लामा रत्ननगरका स्थायी बासिन्दा हुन्। रासस