सर्वसाधारणको विचार निर्माणलाई नराम्रोसँग हुँडलिरहेको मिथ्या र भ्रामक सूचनासँग जुध्ने लडाइँ डिजिटल युगमा सजिलो छैन, तर यससँग नलडी पनि हुँदैन ।
पत्रकार तथा लेखक नारायण वाग्लेको अभिव्यक्ति भन्दै राखिएकाे एक सामग्रीले १३ माघमा सामाजिक सञ्जालमा निकै प्रचार र चर्चा पायो। सञ्जालमा वाग्लेको तस्वीरसहित राखिएको उक्त सामग्रीमा उल्लेख थियो, “संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने, पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ।”
यथार्थमा वाग्लेले त्यसो भनेका थिएनन्। १२ माघमा प्रतिनिधिसभा भङ्गको विरोधमा बालुवाटारमा गरिएको प्रदर्शनका क्रममा भाषण गरेका वाग्लेले भनेका थिए, “जो बालुवाटारमा बस्या छन्, यिनले देशभरि पहिला मन्दिर बनाउँछु भन्दै हिँडे। अब पूजा–आरती गर्दै हिँड्दैछन्। यिनले संविधान पढेका छन् कि छैनन्? संविधानमा के लेखेको छ? संविधानमा लेखेको छ, धर्म निरपेक्षता। यिनले खल्बल्याउन खोजेकै संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र हो।”
वाग्लेले मन्दिर भत्काउनुपर्ने वा पूजापाठ बन्द गर्नुपर्ने भनेका थिएनन्। तर, सरकारविरुद्धको आन्दोलनविरुद्ध रहेका व्यक्तिहरुले उनको भनाइलाई अतिरञ्जित गरेर सामाजिक सञ्जालमा वितरण गरे। जसलाई नियत गलत नभएका कयौं मानिसले समेत पत्याए र दुष्प्रचार झनै फैलियो।
भनिन्छ, सत्यभन्दा अर्धसत्य र झूट छिटो फैलन्छ। सामाजिक सञ्जालमा मिथ्या र भ्रामक सूचना, आधारहीन षड्यन्त्रको सिद्धान्तका विषय र अफवाह तीव्र गतिमा फैलिरहेका हुन्छन्। तथ्य जाँच गर्ने संस्था साउथ एशिया चेक का सम्पादक दीपक अधिकारीका अनुसार, इन्टरनेटमा आम सर्वसाधारणको पहुँचमा वृद्धिसँगै उनीहरुलाई झुक्याउन अफवाह, झूट र भ्रामक सूचना नियोजित रुपमा फैल्याइराखिएको छ।
मिथ्या सूचनाको प्रसारणमा ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुको प्रयोग भएको छ। “नियोजित उद्देश्यसहित भ्रामक र मिथ्या सूचना संगठित रुपमैं फैल्याउने दुष्प्रचार हुन थालेको छ, समाज राजनीतिक आधारमा ध्रुवीकृत भइरहेकाले यो भविष्यमा अझ बढ्ने जोखिम छ,” अधिकारी भन्छन्।