वाइडेन प्रशासनको अनुमान कोरोनाबाट ७ लाख नागरिकको ज्यान जानसक्छ

जो वाइडेन अमेरिकाका सबैभन्दा पाका उमेरका राष्ट्रपति हुन्। उनको उमेर ७८ वर्ष भएका कारण अहिले अमेरिकी प्रशासनलाई कोरोना संक्रमणबाट उनलाई बचाउन सबैभन्दा ठूलो चुनौती थपिएको छ। 

यी सबै कुरालाई मध्यनजर राख्दै ह्वाइट हाउसले आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको छ। उसले ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न अर्थात ‘वर्क फर होम’ को सिद्धान्तलाई लागु गरेको छ। ह्वाइट हाउसमा महत्वपूर्ण व्यक्तिको सानो समूहलाई मात्र काममा बोलाइएको छ। तर, उनीहरूलाई पनि कोरोनासँग जोडिएको सरकारी ‘गाइडलाइन’ पालना गर्न भनिएको छ। यसका लागि उनीहरूलाई अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न उर्दी जारी गरिएको छ।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बिहीबार यसको जानकारी दिँदै भनेका छन्, ‘कार्यालयमा आउने हरेक कर्मचारीले दैनिकी कोरोना परीक्षण गर्नुपर्ने छ।’ उनले यसका लागि ह्वाइट हाउस सञ्चालन निर्देशक जेफरी वेक्सलरलाई जिम्मेवारी सुम्पिएको बताए। 

ह्वाइट हाउसले यो सावधानी किन पनि अपनाइरहेको छ भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ह्वाइट हाउसमा तीन पल्ट कोरोना संक्रमण फैलिएको थियो। अझ ट्रम्प आफै कोरोना संक्रमित बन्न पुगेका थिए। 

अहिले राष्ट्रपतिको हरेक कार्यक्रममा सामाजिक दुरीलाई विशेष ध्यान दिइएको छ। यतिसम्म कि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि राष्ट्रपतिसँग भेट गर्दा सामाजिक दुरी अपनाउन अनुरोध गरिएको छ।

यसैबीच वाइडेनले बिहीबार नै सरकारी स्वास्थ्य बीमा योजना पुनः सुरु गर्ने घोषणा गरेका छन्। अमेरिकामा कोरोनाबाट कूल २ करोड ५६ लाख मानिस प्रभावित भइसकेका छन्। यहाँ ४ लाख २९ हजार मानिसको निधन भएको छ। वाइडेन प्रशासनको अनुमानअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ७ लाख मानिसको ज्यान जानसक्छ।

अमेरिकाको स्वास्थ्य विभागले निकालेको तथ्यांकअनुसार हालसम्म कोरोनाबाट मर्ने अमेरिकीमा ९५ प्रतिशत मानिसको उमेर ५० वर्षमाथि छ। यसैले ह्वाइट हाउस संक्रमणलाई लिएर बढी सतर्क भएको हो। राष्ट्रपति वाइडेनले कोरोनाको पहिलो खोप लिइसकेका छन्। तर, ह्वाइट हाउस उनको स्वास्थ्यलाई लिएर कुनै जोखिम उठाउन चाहदैन।

प्रकाशित मिति: : 2021-01-29 06:44:00

प्रतिकृया दिनुहोस्